काठमाडौँ, फागुन २१ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले युगाण्डामा हुने चारदेशीय महिला टी–२० शृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ । क्यानद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा नेपाली महिला टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेको हो ।
यही फागुन २४ गतेदेखि हुने उक्त शृङ्खलामा नेपालसहित युगाण्डा, हङ्कङ र नामिबिया सहभागी छन् । क्यानका सचिव पारस खड्काले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै नयाँ ठाउँमा गएर खेलेर नयाँ अनुभव बटुल्न मद्दत पुग्ने बताउनुभयो । नेपाली टिमकी कप्तान इन्दु वर्माले आफ्नो टोलीको तयारी राम्रो भएकाले युगाण्डामा गएर राम्रो क्रिकेट खेलेर फर्कने बताउनुभयो ।
त्यसैगरी नेपाली टोलीका प्रशिक्षक मनोज कटुवालले कमजोरीहरू सुधार गरी सिरिज जितेर फर्कने बताउनुभयो । नेपालले आफ्नो पहिलो खेल यही फागुन २४ गते नामिबियासँग खेल्नेछ ।
त्यसैगरी फागुन २५ गते युगाण्डासँग र फागुन २६ गते हङ्कङसँग खेल्नेछ । त्यस्तै फागुन २८ गते नामिबियासँग, २९ गते युगाण्डासँग र ३० गते हङ्कङसँग खेल्नेछ । यी सबै खेलहरू सकिएपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित रुविना क्षेत्री, पुजा महतो, अलिशाकुमारी यादव, सना प्रवीन, रोमा थापा, विन्दु रावल, सम्झना खड्का, ममता चौधरी, कविता जोशी, रिया शर्मा, राजमती ऐरी, रचना चौधरी र ईश्वरी विष्ट छन् ।