काठमाडौँ, फागुन २० गते । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन र स्वास्थ्य सेवाको गुणस्तर वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल चिकित्सक सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको भावना र मर्मअनुसार भएको बताउनुभयो । उहाँले  भन्नुभयो, “संविधानको भावना र मर्मलाई आत्मसात गर्दै चिकित्सकले यो पेशालाई सेवा भावका दृष्टिकोणले हेर्नु हुनेछ भन्ने विश्वास लिएको छु ।”

राष्ट्रपति पौडेलले नेपाली जनताको सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत आवश्यकता पुरा गर्ने हक सुनिश्चित गरेको स्पष्ट पार्नुभयो । 

उहाँले दुरदराजमा अझै नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेकाले यो अवस्थालाई गम्भिरतापूर्वक लिएर दक्ष चिकित्सकको सेवा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्‍याउन म आह्वान पनि गर्दछु ।”

राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु सुखद् पक्ष भएको बताउनुभयो ।  उहाँले नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको उल्लेख गर्नुभयो । राष्ट्रपति पौडेलले देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी दिनमा नेपाल चिकित्सक सङ्घको भूमिका अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा लिजेन्ड ईन मेडिसिनबाट डा गौरीशंकरलाल दास, डा मृग्रेन्द्रराज पाण्डे, डा दिनेशनाथ गङ्गोल, डा डिबि कार्की र डा सरस्वती  पाध्येयलाई राष्ट्रपति पौडेलले सम्मान गर्नुभएको थियो ।