चितवन, फागुन २० गते । चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका १०३ वटा गोही राप्ती नदीमा छाडेको छ । साउनयता पटकपटक गरी ती गोही नदीमा छाडिएको हो । छाडिएकाहरुमध्ये एउटा, भाले र अन्य पोथी रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यस वर्ष छाडिएका गोही सन् २०२० मा कोरलियका बच्चा हुन । गत आर्थिक वर्षमा १०५ वटा गोही नदीमा छाडिएको थियो । नदी किनारबाट गोहीका अण्डा सङ्कलन गरेर प्रजनन् केन्द्रमा कोरल्ने गरिन्छ । त्यहाँ हुर्किएका बच्चालाई नदीहरुमा छोड्ने गरिन्छ ।

हालसम्म राप्ती, नारायणीसहित देशका विभिन्न नदीमा दुई हजार ६० वटा गोही छाडिसकिएको छ । यद्यपि ती गोही बच्ने दररेट निकै न्यून छ । थापामगरका अनुसार गत वर्ष गरिएको सर्वेक्षणमा राप्तीमा १५२ र नारायणी ११३ वटा गोही भेटिएका थिए । हाल प्रजनन केन्द्रमा ६९७ वटा गोही रहेका छन् ।

घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो । विगतमा पाकिस्तान, बङ्गलादेश, भूटान, म्यान्मालगायत देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् । सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको दुई प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइएपछि संरक्षणमा चासो बढेको संरक्षणकर्मी बताउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरिएको थियो । त्यतिखेर देशभरमा १०० भन्दा कम सङ्ख्यामा घडियाल गोही रहेको अनुमान गरिन्छ । नदीमा बढ्दो मानवीय चहलपहल, नदीजन्य पदार्थ उत्खनन, प्रदूषण, मान्छेले माछा मारेर खानेलगायतका कारण गोहीहरु प्राकृतिक बासस्थानमा असुरक्षित बनिरहेको थापामगरले बताउनुभयो । नदीहरूमा बाढी आउँदा गोहीहरू बगेर सीमापारि पुग्ने समस्या रहेको छ । हरेक वर्ष नदीहरुमा गोही छाड्ने गरेको भए पनि अपेक्षाकृत रुपमा सङ्ख्या भने बढेको छैन ।