जुम्ला, फागुन २० गते । जुम्लाको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट गाउँमा रहेको पशुसेवा केन्द्र सञ्चालनमा आएको छ । एक वर्षदेखि बन्द रहेको पशुसेवा केन्द्र आइतबारदेखि सञ्चालनमा आएको हो ।

पशु प्राविधिक कर्मचारी नहुँदा केन्द्र बन्दबारे ९ माघ २०८१ मा राससबाट समाचार प्रकाशन भएपछि तिला गाउँपालिकाले कर्मचारीको व्यवस्थापन गरेको छ । पालिकामा रहेको पशु विकास शाखाबाट नायब पशु स्वास्थ्य प्रविधिक वीरेन्द्रलाल महतलाई उक्त केन्द्रका लागि खटाएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । तीन जना पशु विकास शाखा हेर्ने कर्मचारी कार्यरतमध्ये एक जनाको अवकाश भएपछि दुई जना कर्मचारीबाट सेवा प्रवाह भइरहेको थियो । अब बन्द रहेको केन्द्रका लागि एकजना कर्मचारी पठाएपछि सेवा प्रवाह सञ्चालनमा आएको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाको भनाइ छ । चाहिने आवश्यक औषधिको व्यवस्थापन गरेर यहाँका स्थानीयवासीको सहजका लागि गाउँमै केन्द्र सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।

नायब पशु स्वास्थ्य प्रविधिक महतले भन्नुभयो , “आवश्यक महत्त्वपूर्ण औषधि अभाव छ । पालिकामा रहेको पशु विकास शाखाबाट चाहिने औषधिको माग गरेको छौँ ।” उक्त पालिकाको वडा नं ८ र ९ भेडाबाख्रापालन गर्ने क्षेत्रसमेत हो । सेवा केन्द्र बन्द भएपछि यहाँका पशुपालक किसान सेवा लिनबाट वञ्चित भएका थिए ।

विसं २०७६ देखि २०८० सम्म कार्यालय सहयोगीले सेवा केन्द्र खोल्दै आएका थिए । कार्यालय सहयोगी पनि सेवानिवृत्त भएपछि केन्द्र एक वर्षदेखि बन्द थियो । सेवा केन्द्रका लागि प्राविधिक सहायक लोकसेवामार्फत माग गरिएको गाउँपालिकाले जनाएको छ ।