काठमाडौँ, फागुन १९ गते । आफ्नो मुक्ति र जगत्को हितका लागि आध्यात्मिक साधनाको शिक्षा दिनुहुने सन्त रामकृष्ण परमहंसको प्राकट्य दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सन् १८३६ फागुन शुक्ल द्वितीयाका दिन भारतको पश्चिम बङ्गालस्थित कामारपुकर भन्ने गाउँमा रामकृष्ण परमहंसको जन्म भएको थियो । सबै धर्मका साधनाबाट आध्यात्मिक लाभको अनुभूति गर्नुभएका रामकृष्णको सिद्धान्त नै सर्वधर्म संवाद भएको रामकृष्ण आश्रम, नेपालका अध्यक्ष स्वामी एकार्थनन्द बताउनुहुन्छ ।
रामकृष्ण परमहंसको प्राकट्य दिवसका अवसरमा रामकृष्ण आश्रम, नेपालले ज्ञानेश्वरस्थित आश्रममा पूजा, पाठ, हवन, प्रवचन, भण्डारा एवं प्रसाद वितरण गरेको छ । कार्यक्रममा प्रवचन गर्नुहुँदै स्वामी एकार्थनन्दले आनन्द अनुभूतिका लागि आध्यात्मिक साधनाको आवश्यकतामा जोड दिनुभएको थियो । रामकृष्ण परमहंसका १६ सन्यासी शिष्यमध्ये स्वामी विवेकानन्द एक हुनुहुन्थ्यो ।
रामकृष्ण परमहंसको पहिलो गुरू भैरवी ब्राह्मणी हुनुहुन्थ्यो । त्यसपछि उहाँले प्रत्येक धर्म र सम्प्रदायका गुरूबाट साधना गरी सबैको अनुभव हासिल गर्नुभएको थियो । उहाँले तन्त्र, वेदान्त, वैष्णवमार्गलगायत सनातन हिन्दू धर्मका सबै सम्प्रदायका साथै इस्लाम र क्रिश्चियनलगायत धर्मका साधना पनि गर्नुभएको स्वामी एकार्थनन्दले बताउनुभयो ।
‘सबै बाटोबाट भगवान्मा पुगिन्छ’ । ‘जति मत, त्यति पथ’ भन्ने जस्ता भावनाबाट रामकृष्ण परमहंस प्रेरित हुनुहुन्थ्यो । ‘शिव ज्ञानले जीव सेवा’ भन्दै उहाँ मानव सेवामा जुट्ने गर्नुहुन्थ्यो ।