तनहँ, फागुन १८ गते । जिल्लाको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिका–२ मा अवस्थित ऐतिहासिक मुकुन्देश्वरीगढीलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । यसका लागि यहाँ रहेको ऐतिहासिक मुकुन्देश्वरी मन्दिर पुनःनिर्माण सुरु भएको हो ।
नेपाल एकीकरण हुनुअघि तत्कालीन सेन राजाको पालामा निर्माण भएको यो मन्दिर प्रचारप्रसार नहुँदा ओझेलमा परेको थियो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार मुकुन्देश्वरीको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार पारिएको छ । मुकुन्देश्वरीलाई धार्मिक, ऐतिहासिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजनासहित संरचना निर्माण गर्ने योजना बनाइएको उहाँले जानकारी दिनुभयो ।
यहाँ दरबार, सङ्ग्रहालय, पार्क, भ्यूप्वाइट लगायतका संरचना निर्माण गर्ने योजना रहेको छ । मुकुन्देश्वरी डाडाँमा अवस्थित यो मन्दिरमा विगतमा वडादसैँका अवसरमा नियमित पूजा गरिँदै आए पनि पछिल्लो समय चैते दसैँलगायत अन्य समयमा पनि पूजाआजा गरिँदै आइएको छ ।
इतिहास विद्हरूका अनुसार पाल्पाली राजा मणि मुकुन्दसेन पाल्पाबाट काठमाडौँ उपत्यका जाने वा आफ्ना अन्य राज्यलगायत तीर्थस्थल भ्रमण गर्ने क्रममा मुकुन्देश्वरीमा बसाइँ गर्ने गर्दथे ।
मन्दिर क्षेत्र परिसरमा अझै पनि राजामणि मुकुन्दसेनको शीतकालीन दरबारका भग्नावशेष, तत्कालीन सैनिक टुँडिखेल, ३०–३५ जना अट्ने गुफा, ८–१० फिट गहिराइको इनार, घोडा बाँध्न प्रयोग गरिएका तबेला रहेका छन् । यी सम्पदालाई संरक्षण गर्दै मुकुन्देश्वरी क्षेत्रलाई अध्ययन अनुसन्धानको केन्द्रका रूपमासमेत विकसित गर्ने योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ ।
स्थानीय बासिन्दाको सक्रियता, प्रदेश र स्थानीय सरकारको संयुक्त लगानीमा यसको पुनःनिर्माण अघि बढाइएको मुकुन्देश्वरी मन्दिर एवं दरबार निर्माण तथा संरक्षण समिति अध्यक्ष सुकुमलाल गुरुङले बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षमा बन्दीपुर गाउँपालिकाबाट विनियोजित रु पाँच लाखबाट मन्दिरसम्म पुग्न करिब दुई सय ९० मिटर अधुरो सिँढी निर्माण सम्पन्न भइसकेको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट विनियोजित रु पाँच लाख बजेटबाट ग्याबिन जाली भर्ने काम सम्पन्न भइसकेको छ । यस्तै, गण्डकी प्रदेश सरकार पर्यटन मन्त्रालयबाट रु १० लाख बजेट प्राप्त भई मन्दिर निर्माण तीव्र रूपमा अगाडि बढिरहेको समिति अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
गाउँपालिकाले मुुकुन्देश्वरी डाँडाको प्रचारप्रसारका लागि मणि मुकुन्देश्वरी पदमार्ग ९मिनि ग्रेटवाल० निर्माणको कामलाईसमेत तीव्रता दिएको छ । उहाँका अनुसार चीनमा रहेको विश्वाको प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी पदमार्ग पर्खाल निर्माण भइरहेको छ ।
बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरू गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । मुकुन्देश्वरी समुद्री सतहबाट एक हजार तीन सय ४३ मिटरको उचाइमा अवस्थित छ । यहाँबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, हिमचुली, गणेश, लाङटाङ हिमशृङ्खलालगायत तनहुँ, लमजुङ, गोर्खा, चितवन र नवलपुरका विभिन्न स्थान सजिलै अवलोकन गर्न सकिन्छ ।
बन्दीपुरबाट भञ्ज्याङ चौतारा हुँदै मुच्चोकसम्म सवारी साधनमा पुग्न सकिन्छ, त्यसपछि करिब ४५ मिनेटको उकालो पैदलयात्रा गरेपछि मुकुन्देश्वरी डाँडामा पुग्न सकिन्छ ।