काठमाडौँ, फागुन १६ गते । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा धनेश्वर नेपालले विद्यालय तहमा पढाइ हुने संस्कृत भाषा हटाएपछि मौलिक संस्कृतिमाथि आक्रमण सुरु भएको बताउनुभएको छ ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आयोजित ‘वैदिक वाङ्मयमा भक्तिमार्ग’ विषयक अन्तर गुरुकूल विद्यालयस्तरीय विचार मन्थन प्रतियोगिताका विजयीलाई पुरस्कार एवं प्रमाण पत्र वितरण गर्दै उहाँले संस्कृतिको मूल संस्कृत भाषा भएको बताउनुभयो । मूललाई नाश गरेपछि त्यसको शाखाका रुपमा रहेको मौलिक संस्कृतिमाथि पनि निरन्तर आक्रमण भइरहेको उपकुलपति नेपालले सुनाउनुभयो । 

विश्वविद्यालयबाट उत्तरमध्यमा तह हटाएपछि विद्यार्थी कम हुन थालेको उल्लेख गर्दै उहाँले गुरुकूललाई प्रवर्द्धन गरेर जाने नीतिमा विश्वविद्यालय लागेको जानकारी गराउनुभयो । 

संस्कृतभित्र रहेका प्राविधिक विषय आयुर्वेद, योग, प्राकृतिक चिकित्सा, वास्तु, कर्मकाण्डजस्ता विषयलाई प्रवर्द्धन गर्ने नीति रहेको जानकारी पनि कार्यक्रममा उहाँले गराउनुभयो । 

प्रतियोगितामा संस्कृत माध्यमिक विद्यालय रानीपोखरीका विजय तिमल्सिना पहिलो, सोही विद्यालयका हेमन्त भट्ट दोस्रो, कान्तिभैरव गुरुकुल गोकर्णका नवीन रेग्मी तेस्रो, नैमिषारण्य गुरुकुल बनेपा, काभ्रेपलाञ्चोकका प्रणव ढुङ्गेल र जगद्गुरु गुरुकूल शङ्खमूलका आशीष रम्तेलले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । पहिलोलाई रु १० हजार, दोस्रोलाई रु सात हजार, तेस्रोलाई रु पाँच हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई रु तीनरतीन हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।