काठमाडौँ, फागुन १५ गते । काठमाडौँको संस्कृति, सभ्यता, पर्यटन, परम्परागत खाना र आममान्छेका जीवन कथा समेटेर यही फागुन १६ गतेदेखि यहाँ दुई दिने ‘काठमाडौँ उत्सव’ हुने भएको छ ।

दुई दिनसम्म चल्ने उत्सवमा चलचित्र, साहित्य, सङ्गीतका अन्तरक्रियाहरू हुने कार्यक्रमका अध्यक्ष प्रकाश समीरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्सवलाई नियमित रुपमा हुने साहित्यिक महोत्सवभन्दा भिन्न बनाउन हामीले विज्ञसँगै भुइँ मान्छेका विचारलाई विशेष प्राथमिकता दिएका छौँ । कला, साहित्य, संस्कृति, पर्यटन, शिक्षा, युवा, ज्ञान, विज्ञान र आध्यात्मिकता जस्ता विषय समेटिएको उत्सवमा आममान्छेका अनुभवलाई प्राथमिकतामा राखेर छलफल सत्र राखिएको छ ।”

उहाँले कवितावाचनबाट उद्घाटन हुने कार्यक्रममा गायिका शान्तिश्री परियारसँग ‘साधना र सफलता’, लेखकहरू ध्रुवचन्द्र गौतम र बसन्त चौधरीबीच ‘अक्षरका आयामहरु’, ‘चलचित्र निर्देशनमा नयाँ पुस्ता’ शीर्षकमा निर्देशकत्रय सुजीत बिडारी, कृषा चौलागाईं र अनिल बुढामगरसँग हुने छलफल सत्रसँगै काठमाडौँ सभ्यता झल्काउने खाना, चित्रकला प्रदर्शनी र बुक स्टलसमेत राखिने जानकारी दिनुभयो ।