काठमाडौँ, फागुन १४ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र स्पेनका विदेशमन्त्री जोसे म्यानुअल अलबारेस् बुएनोबीच जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका उहाँहरूबीच आज साइडलाइन भेटवार्ता भएको हो ।

भेटमा मन्त्री डा देउवाले युरोपियन युनियनका समेत विदेश तथा सहयोगमन्त्रीका रूपमा रहनुभएका म्यानुअलसँग युरोपियन युनियनको एक महत्त्वपूर्ण सदस्यका रूपमा रहेर स्पेनले नेपालको आर्थिक सामाजिक विकासमा गरेको सहयोगको सराहना गर्नुभएको थियो । सो भेटमा मन्त्री डा देउवाले नेपाललाई कोभिड–१९ तथा भूकम्पजस्ता अप्ठेरो समयमा पनि स्पेनले पुर्‍याएको सहायताका लाग धन्यवाद ज्ञापन गर्नुभयो ।

नेपाल सन् २०२६ मा विकासोन्मुख राष्ट्रका रूपमा स्तरोन्नति हुने चरणमा रहेकाले आवश्यक सहयोगसहित दिगो विकास लक्ष्य हासिल गर्नका लागि नेपाललाई पर्नसक्ने आवश्यक सहयोगका लागि स्पेनलाई आग्रह पनि गर्नुभयो । मन्त्री डा देउवाले जलवायु परिवर्तनले नेपाललाई परेको असरबारे नेपालले आन्तर्राष्ट्रि मञ्चहरूमा न्यायका लागि वकालत गरिरहेकाले त्यसमा स्पेनको पनि सहयोगका लागि अपिल गर्नुभयो ।

मन्त्री डा देउवाले नेपाल संयुक्त राष्ट्रसङ्घको सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषदको सदस्यमा उम्मेदवारी घोषणा गरिसकेको र २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् एवं सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा उम्मेदवारी दिने भएकाले त्यसमा सहयोगका लागि स्पेन सरकारलाई पनि आग्रह गर्नुभयो ।

साथै उहाँले जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्यको विषयलाई मुख्य थिम बनाएर आगामी मे महिनामा नेपालले सगरमाथा संवाद कार्यक्रमको आयोजना गरेकाले त्यसमा सहभागिताका लागि स्पेनलाई पनि आमन्त्रण गर्नुभयो । त्यस अवसरमा मन्त्री डा देउवाले नेपालमा राजदूतावास स्थापना गर्न स्पेनलाई आग्रह पनि गर्नुभयो ।

त्यसैगरी मन्त्री डा देउवाले आजै स्लोभाकियाका विदेशमन्त्री जुरज ब्लानरसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यस क्रममा उहाँले नेपाल स्लोभाकियाबीचको आपसी सम्बन्धका साथै नेपालले संयुक्त राष्ट्रसङ्घमा दिएका उम्मेदवारी र जलवायु परिवर्तनको असरका क्षेत्रमा नेपालले उठाउँदै आएका विषयवस्तुहरूका बारेमा पनि कुराकानी गर्नुभएको थियो ।

त्यसैगरी आजै मन्त्री डा देउवासँग मेक्सिकोका अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार सम्बन्धी उपमन्त्री एनरिक जेभियर ओच मर्टिनाजले पनि शिष्टाचार भेट गर्नुभएको थियो । त्यस अवसरमा उहाँहरूबीच नेपाम मेक्सिको सम्बन्धका विविध पक्ष र आगामी दिनमा गर्न सकिने सहकार्यका बारेमा कुराकानी भएको थियो ।