काठमाडौँ, फागुन १४ गते । नेपाली काङ्ग्रेसका युवा नेताहरूले पार्टीको कार्यकारी पदमा उम्मेदवार दिनका निम्ति सम्पत्ति विवरण बुझाउनपर्ने विधानमा व्यवस्था हुनुपर्ने माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा पार्टीको महाधिवेशन नजिकिँदै गर्दा युवा नेताहरूले जुनसुकै तह र क्षेत्रमा उम्मेदवारी दिन कार्य योजना प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था हुनुपर्ने माग गरेका हुन् ।
चालीस वर्षभित्रका युवालाई ३० प्रतिशत प्रतिनिधित्व सुनिश्चितता हुनुपर्ने र युवासँगै विज्ञका निम्ति १० प्रतिशतसम्मको प्रतिनिधित्वको सुनिश्चित गराउन विधानमै व्यवस्था हुनुपर्ने मागसमेत गरेका छन् ।
काङ्ग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीमा शुद्धीकरण आवश्यक रहेको बताउँदै नेता कार्यकर्ताले नैतिक मूल्य मान्यताअनुसार नचल्दा समस्या भएको दाबी गर्नुभयो । संविधानसभा सदस्य एवं काङ्ग्रेसका नेता रञ्जीत कर्णले आरक्षणमा नदोहोरिने व्यवस्था मिलाउन आग्रह गर्जुभयो ।
अन्तरक्रियामा वडा तहदेखि संसद्सम्मको उम्मेदवार प्रस्तुत गर्न कार्यकालको कार्ययोजना अनिवार्य वैधानिक व्यवस्था गर्ने समानुपातिक निर्वाचन प्रणाली हटाई संसद् सङ्ख्या कम गर्ने र उम्मेदवारीमा समावेशीलाई पूर्ण रूपमा लागू गर्नेगरी व्यवस्था मिलाउन संविधान संशोधनमा पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ ।
नेता कर्णका अनुसार कांग्रेसको नीतिः उद्यमशीलतासहित राजनीति अभियान सञ्चालन गरिने योजना सुनाउँदै कांग्रेसले राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका निर्वाह गर्नसके मात्र राष्ट्रिय समृद्धिको नेतृत्व पनि लिनसक्ने दावी गर्नुभयो ।