प्रधानमन्त्री केपी शर्मा ओली ।
काठमाडौँ, फागुन १३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले युवाहरु निराश हुनु नपर्ने बताउनुभएको छ । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देश अँध्यारो युगबाट उज्यालो युुगमा प्रवेश गरेकाले युवाहरु निराश हुनु नपर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले देशमा असाधारण विकास हुँदै गएकाले केही भएन वा सरकारले केही गरेन भन्न नमिल्ने बताउनुुभएको छ ।
एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभई सोच विचार गरेर सरकारले काम गरिरहेको स्पष्ट गर्दै जनताले पनि यस यात्रामा साथ र सहयोग दिनुुपर्नेमा जोड दिनुुभयो । “खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । शुल्क तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर अध्ययन गर्ने वातावरण तयार गर्नुपर्दछ”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । ‘एसइई’मा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले ‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताउनुुभयो । यसअघि प्रधानमन्त्री हुँदा आफूले ३९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उहाँले यसबीचमा प्रभावकारी रुपमा काम हुन नसकेको बताउनुुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले अस्पतालको रजत जयन्ती स्मारिकाको विमोचन गर्नुभएको थियो ।