फाइल तस्वीर सांसद माधव सापकोटा
काठमाडौँ, फागुन १३ गते ।
प्रतिनिधिसभाको आज मङ्गलबारको बैठकमा गाँजा खेती खुला गर्नुपर्ने माग गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले गाँजा खेती खुला गर्ने नीति लागू गर्न माग गर्नुभएको हो ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नम्बर ४९ मा ‘औषधीय प्रयोजनको लागि गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने’ भन्ने उल्लेख भएको बुँदाको यथाशीघ्र कार्यान्वयन गर्न सांसद सापकोटाले माग गर्नुभएको हो ।

चालु आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सरकारले गाँजा खेतीको सम्भावनाबारे अध्ययन गर्ने कुरा उल्लेख गरिएको छ । सरकारले बजेट भाषणमार्फत् ल्याएको यो व्यवस्था कार्यान्वयन गरिएको छैन । अघिल्लो आर्थिक वर्षको बजेटमा पनि गाँजा खेती गर्ने कुरा उल्लेख गरिएको थियो ।

सरकारले २०८० कार्तिक २० गते गृह मन्त्रालयका तत्कालीन सहसचिव भीष्मलाल भुसालको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयका सहसचिव सदस्यसचिव रहने गरी गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्न कार्यदल बनाएको थियो । कार्यदललाई गाँजा औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकीकरणको सम्भाव्य अनुसन्धान गर्ने ‘म्यान्डेट’ दिइएको थियो । कार्यादल गठत भएता पनि उक्त कार्यदलले कुनै काम गरेन ।

गाँजासँग सम्बन्धित बजेट वक्तव्यको ४९ बुँदा कहिले कार्यान्वयन हुन्छ ?’ सांसद सापकोटाले प्रश्न गर्नुभएको थियो ।