काठमाडौँ, फागुन १२ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा अमरेशकुमार सिंहले गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत नेपालमा भित्रिएको रकम र त्यसको उपयोगितबारे सरकारसँग जानकारी माग गर्नुभएको छ ।
“विभिन्न दातृ संस्था र निकायबाट आएका रकमबारे सामाजिक सञ्जालमा विभिन्न कुराहरु देखिन्छन, हाम्रो देशमा जसले पनि जहाँ पनि लगानी गर्न पाउने व्यवस्था के हो ? गैरसरकारी क्षेत्रबाट कति रकम आयो र कुन क्षेत्रमा खर्च भयो त्यो सदनले थाहा पाउनुपर्छ”, उहाँले भन्नुभयो ।
यसको नियमनका लागि २०७४ सालमा राज्य व्यवस्था समितिबाट राष्ट्रिय सदाचार नीतिको मस्यौदा तयार भएको उल्लेख गर्दै उहाँले एनओजी र आइएनजीओबाट आएको पैसाबारे सरकारले श्वेतपत्र जारी गर्न माग गर्नुभयो । सांसद सिंहले मुलुकलाई ग्रे–लिस्टमा पर्नुको कारण समेत सरकारसँग माग गर्नुभयो ।
सांसद रोशन कार्कीले अछामकी एक १२ वर्षिय बालिका बलात्कृत भएको घटनाको निन्दा गर्दै यस प्रकारका घटना रोक्न माग गर्नुभयो । उहाँले बालिकाहरुले न्याय नपाएको भन्दै असन्तुष्टि जनाउनुभयो ।