फाइल तस्वीर
काठमाडौँ, फागुन ११ गते । त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल सुरु भएको छ । आज सोमबार बसेको राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६४ औँ बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको कार्यान्वयनको अवस्थासम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि विज्ञहरुसँग छलफलमा गरिएको हो ।

समितिका सभापति मायाप्रसाद शर्माले ऐनमा भएका कमीकमजोरी र सुधार गर्नुपर्ने पक्षको विषयमा छलफल गर्ने लक्ष्यले प्रतिवेदनमा छलफल गरिएको बताउनुभएको छ ।

सांसद युवराज शर्माले लिखित कानुन नभएको मुलुकमा कानुन शासन भएको तर लिखित कानुन भएको स्थानमा कानुनी शासनको कार्यान्वयन नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “ऐनमा त्रृटि छन् । आएका सुझावहरु गहकिला छन् । सुझावको आधारमा प्रतिवेदन तयार गर्नुपर्छ ।”

संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण विडारीले प्रतिवेदन बनाउनुको मुख्य कारण नै विगतमा भएको कमीकमजोरीलाई सुधार गर्नुरहेको बताउनुभएको छ । “ऐनमा कमीकजोरीहरु देखिएका छन् । ती कमजोरीलाई सुधार गर्न पनि प्रतिवेदन बनाउन आवश्यक परेको हो”, उहाँले भन्नुभयो, “संविधानलाई समेत निष्क्रिय बनाउने गरी ऐनले केही अधिकार त्रिभुवन विश्वविद्यालयलाई दिएको छ । यो पनि गलत थियो । ऐनका कतिपय अष्पष्ट व्यवस्थालाई सुधार गर्न पनि प्रतिवेदन आवश्यक छ ।”

विश्वविद्यालयलाई बोलाएर थप छलफल गरेर अगाडि बढ्न उहाँले सुझाव दिनुभएको छ । समितिका सचिव सञ्जय दाहालले समितिले ऐनमा भएका कमजोरीलाई सच्चाए संशोधनका लागि प्रस्ताव गर्न सकिने बताउनुभएको छ ।