काठमाडौँ, फागुन १२ गते । प्रतिनिधिसभा सदस्य ध्रुवबहादुर खनालले भन्सार कार्यालयले जफत गरेका सामान समयमै लिलाम गरेर राजस्व सङ्कलन बढाउन सरकारको ध्यानार्कषण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद खनालले राजस्व छलेर ल्याइएका सामानलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले जफत गरेको लामो समयसम्म पनि ती सामान लिलामी बिक्री नहुँदा खेर गइरहेको बताउनुभयो ।

“महेशपुरमा रु ५० लाख बराबरको चिनी जम्मा भएको छ । समयमा लिलाम गर्न नसक्दा त्यसलाई नष्ट गर्न उल्टै रु पाँच लाख लाग्ने भयो”, उहाँले भन्नुभयो, “देशभरका अन्य भन्सारमा ट्रक, मोटरसाइकललगायत सवारीसाधन खिया लागेको अवस्थामा छन् । सरकारको राजस्व खेर गइरहेको छ ।”