कञ्चनपुर, फागुन १२ गते । महेन्द्रनगर– कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट –५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार परीक्षा दिन लगाउने सुवास डगौरा र प्रयोगात्मक परीक्षामा अरुको नाममा फर्जी हाजिर लगाइ परीक्षा दिने भीमदत्त नगरपालिका–६ का अमरसिंह धामीलाई पनि पक्राउ गरिएको निरीक्षक जोशीले बताउनुभयो । उनीहरुले अरु दुईजनाको हाजिर गरी परीक्षा दिएकाले प्रहरीको सहयोगमा पक्राउ गरी कञ्चनपुर प्रहरी कार्यालयको जिम्मा लगाइएको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टले बताउनुभयो ।
पक्राउ परेका दुबै जनाले फर्जी हाजिरी गरी परीक्षामा सहभागी भएको कार्यालय प्रमुख भट्टले बताउनुभयो । कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको प्रमुख भट्टले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं निरीक्षक जोशीले पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान भइरहेको बताउनुभयो । ‘पक्राउ परेका तिनै जनामाथि अनुसन्धान भइरहेको छ,” निरीक्षक जोशीले भन्नुभयो “अनुसन्धान सकिएपछि मात्रै उनीहरुलाई कुन शीर्षकमा मुद्दा लाग्छ त्यसबारे निर्णय लिन्छौँ ।”