काठमाडौँ, फागुन १२ गते । सङ्घीय संसद्को राष्ट्रियसभाअन्तर्गत रहेका दुईवटा समितिको बैठक आज बस्दैछ । जसअन्तर्गत आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १२ः३० बजे सिंहदरबारमा बस्दै छ । सो बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सम्बन्धी सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज दिउँसो १२ः४५ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन– २०८१ माथि विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा संविधानसभा सदस्य राधेश्याम अधिकारी र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका निवर्तमान सभापति रामनारायण बिडारीलाई आमन्त्रण गरिएको संसद् सचिवालयले जनाएको छ ।