काठमाडौँ, फागुन ११ गते । नेपाली सेनाले करिब १० वर्षको अवधिमा १६ लाख १८ हजारभन्दा बढीको सङ्ख्यामा वृक्षरोपण गरेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र सेनाको सहकार्यमा आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म उक्त सङ्ख्यामा वृक्षरोपण सम्पन्न भएको सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
राष्ट्रिय पुँजी र अर्थतन्त्रको विकास गर्न प्रकृतिको संरक्षण र संवर्द्धनसहित पर्यटन उद्योग एक महत्वपूर्ण क्षेत्रका रूपमा लिने गरिएको छ ।
सोही कार्यक्रमअन्तर्गत हालसम्म चुरे क्षेत्रमा रहेका २० वटा तालतलैयाको संरक्षण र पुनः निर्माण गरिएको छ । मुलुकका १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा÷एउटा वन्यजन्तु आरक्ष र सिकार आरक्षसहित चुरे क्षेत्र संरक्षण गर्न नेपाली सेनाका आठ गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सातवटा अनाश्रित गुल्ममा गरी नौ हजार ४६ जना जनशक्ति परिचालित रहेको युद्धकार्य निर्देशक रवीन्द्र खत्रीले जानकारी दिनुभयो ।
नेपाली सेनाले चार दशकदेखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष सुरक्षाको जिम्मेवारी लिएपछि लोपोन्मुख वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको जानकारी दिइयो । यसै सन्दर्भमा सन् २००९ मा नेपालमा एक सय २१ बाघ रहेकामा हाल त्यो सङ्ख्या बढेर तीन सय ५५ पुगेको छ ।
यस्तै, सन् २००५ मा चार सयको सङ्ख्यामा रहेका लोपोन्मुख एकसिङ्गे गैँडाको सङ्ख्या ७५२ भन्दा बढी रहेको जानकारी दिइयो ।