फुङलिङ, फागुन ११ गते । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थिति उत्पन्न भएको भन्दै निषेध आदेश जारी गरेको छ । ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा सुरु भएको आन्दोलन नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।


जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्वारा जारी गरिएको विज्ञप्तिमा, ’ताप्लेजुङ जिल्ला फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदङ्गा, झडप र प्रतिकुल स्थितिको सिर्जना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण २०८१–११–११ गते बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि निषेध आदेश जारी गरिएको छ’ भनी उल्लेख गरिएको छ ।

आज बिहान ५ बजेबाट लागू हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक लगाइएको छ । प्रशासनले घोषित अवधिभर जारी आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानुन बमोजिम कारवाही हुने जनाएको छ ।