काठमाडौँ, फागुन १० गते । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोग बढाउँदै सेवा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल कानुन समाजले आज यहाँ आयोजना गरेको ‘नेपाल–चीन कानुन सहयोग आदान–प्रदानको दृष्टिकोण’ विषयक कार्यक्रममा उहाँले छिमेकी चीन र भारतले न्याय प्रणालीमा सूचना प्रविधिको प्रयोगलाई उच्चतम रूपमा कार्यान्वयनमा बताउँदै नेपालले पनि सोहीअनुसार कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले नेपालले पछिल्लो समय न्यायका क्षेत्रमा अनलाइन प्रणाली सुरु गरिसकेको बताउँदै यसले न्याय प्रणाली सरल, सहज हुनुका साथै पहुँच विस्तार हुने धारणा व्यक्त गर्नुभयो ।
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कानुनलाई विकाससँग जोडेर कार्यान्वयन गर्नु आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले चीनको न्याय प्रणाली नेपालसँग धेरै दृष्टिकोणले मिल्दो भएकाले सिकाइ र सहयोग आदानप्रदान गर्न सकिने उल्लेख गर्नुभयो ।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले चिनियाँ न्याय प्रणालीका बारेमा जानकारी गराउँदै आर्थिक विकासका लागि कानुन प्रणालीमा सुधारको आवश्यकता रहेको बताउनुभयो ।
समाजका अध्यक्ष पुष्पा भुसालले मुलुकको आर्थिक विकास र न्याय प्रणालीको विकासका लागि दुई देशबीच अनुभव आदानप्रदान गरेर लाभ लिने उद्देश्यले कार्यक्रम गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा अन्य सहभागीले छलफलमा आ–आफ्ना धारणा व्यक्त गर्दै कानुन विकासको बाधक बन्न नहुने बताउँदै विकास अनुकूलको कानुनको आवश्यकतामा जोड दिनुभएको थियो ।