कर्णाली, फागुन १० गते । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको अवस्था बदल्न सहयोग गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । आज यहाँ आयोजित कोपिला भ्याली स्कुल वीरेन्द्रनगर–४ सुर्खेतको १५औँ स्थापना दिवस समारोहमा उहाँले कर्णालीको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक सुधारका लागि सबैले गम्भीर भएर सोच्नुपर्ने धारणा राख्नुभयो ।

कर्णालीको शैक्षिक उन्नयनमा कोपिला भ्याली स्कुलले महत्वपूर्ण भूमिका खेलेको भन्दै मुख्यमन्त्री कँडेलले शिक्षा मात्र नभई पछिल्लो समय उक्त स्कुल पर्यटकीय एवं रमणीयस्थलका रूपमा विकास हुँदै गएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले ऋण काढेर शिक्षाका निम्ति अमेरिका युरोप जानेहरूका अगाडि नेपालमै कर्म गरेर विश्वमा नमूना काम गर्न सकिदो रहेछ भन्ने शिक्षा स्कुलले दिएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री कँडेलले सामुदायिक विद्यालयको अवस्था सुधारका लागि कोपिला भ्याली सहयोगी बन्नसक्ने समेत बताउनुभयो । “कर्णालीप्रति म्यागी डोयन, टोपबहादुर मल्लको योगदान र कोपिला भ्यालीले शैक्षिक सूचक बढाउन खेलेको भूमिका प्रशंसनीय छ । बरु यहाँ भएको सिकाइ अभ्यास र गतिविधिहरू सामुदायिक विद्यालयसँग आदान–प्रदान गर्दा यसले शैक्षिक क्षेत्रको सुधारमा राम्रै सहयोग पुग्ला”, उहाँले भन्नुभयो ।

मुख्यमन्त्री कँडेलले प्लास्टिकमुक्त नगरपालिका घोषणाका लागि नगरप्रमुख, वडा नं ४, यहाँको टोल विकास समिति र कोपिला भ्यालीबीच सहकार्यका लागि आग्रह गर्नुभयो । 

कोपिला भ्यालीका प्रबन्ध निर्देशक टोपबहादुर मल्लले १५ वर्षको सङ्घर्षमय यात्रामा सबैको सहयोग र सद्भाव रहेको बताउनुभयो । उहाँले म्यागीसहित आफूले लोटा र डोकाबाट काम गर्दै अगाडि बढ्दा शैक्षिक क्षेत्रमा पछाडि परेको कर्णाली प्रदेशलाई केही दिने प्रयासले निरन्तरता पाएको बताउनुभयो । 

समारोहमा बालबालिकाकाले हिंसासम्बन्धी लघु नाटकसहित विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।