काठमाडौँ, फागुन १० गते । विज्ञहरूले देश समृद्ध बनाउन मानव पुँजी विकासमा सुधार आवश्यक रहेको बताएका छन् । आज यहाँ ‘फ्रेन्डस् अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपाल’ ले आयोजना गरेको ‘नेपाल चाइना पार्टनरसीपस् एडभान्सिङ नेपालस् फिनान्सियल ग्रोथ’ कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले आइटी, पूर्वाधार, शैक्षिक विकासमा जोड दिनुपर्ने र आवश्यकताअनुसार छिमेकी देश चीनसँग सहकार्य र साझेदारी गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा सुदनकुमार वलीले देश विकासका लागि आगामी लक्ष्य के हो भन्ने निर्धारण गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “देश समृद्धितर्फ लिन मानव पुँजी विकासमा सुधार आवश्यक छ । शिक्षा र स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा ध्यान दिनुपर्छ । पर्यटनमा लगानी र आतिथ्य व्यवस्थापनमा ध्यान दिनुपर्छ । कृषि, यातायातमा चीन निकै अगाडि छ त्यसमा सहकार्य गर्न सकिन्छ ।”

प्रा डा केशव बस्यालले शिक्षा क्षेत्रको विकास र लगानीबारे सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले अब बन्ने नीति तथा कार्यक्रम प्रमाण तथा तथ्यका आधारमा बन्नुपर्नेमा जोड दिनुभयो । “पुरानै उद्देश्यले अब काम चल्दैन । दीर्घकालीन रूपमा कसरी काम गर्नुपर्छ भन्नेमा हामी गएनौँ ।” चीनले प्राइभेट क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिरहेकामा रोजगारी सिर्जनामा नेपालले पनि त्यो मोडल अपनाउनुपर्छ”, बस्यालको भनाइ थियो ।

पूर्वाधारविज्ञ लालकृष्ण केसीले पूर्वाधार समग्र देश विकाससँग जोडिएकाले यसमा प्रतिफल दिने गरी लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्वाधार विकास नभइ आर्थिक विकास र त्यो नभए सामाजिक विकास नहुने धारणा राख्नुभयो ।

आइटीविज्ञ वसन्त वनले प्रविधिको गतिअनुसार काम गर्न नसके विकासको गति पछि पर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो, “आइटी क्षेत्रलाई विकासको मेरुदण्ड मानेर अघि बढ्नुपर्छ । यसले आर्थिक तथा सामाजिक विकासमा टेवा पु¥याउँछ । हामीसँग अवसर र चुनौती दुवै छन् । हाम्रा कमजोरी र सामथ्र्य के हुन् त त्यसलाई केलाएर अघि बढ्नुपर्छ । आवश्यकताअनुसार साझेदारी गर्न सकिन्छ ।”

आयोजक संस्थाका अध्यक्ष शोभित उप्रेतीले विभिन्न क्षेत्रमा नेपाल र चीनसँगको सहकार्यले आर्थिक समृद्धिमा सहयोग पुग्ने बताउनुभयो । उहाँले हामीहरूसँग स्रोत भए पनि तिनको प्रयोग गर्न नजान्दा समस्या भएको धारणा राख्दै अब सीमित स्रोतसाधन उपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।