काठमाडौँ, फागुन ९ गते । मन्त्रालय र निकायगत माइलस्टोनको अर्धवार्षिक प्रगति विवरणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दोस्रो स्थान प्राप्त गरेको छ । विसं २०८१ पुस महिनासम्म सम्पन्न हुुनुपर्ने गरी लक्ष्य निर्धारण भएका ६५१ वटा माइलस्टोनको विश्लेषण गर्दा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल ट्रष्टको कार्यालयको शत्प्रतिशत माइलस्टोन सम्पन्न भएको देखिएको छभने राष्ट्रिय सतर्कता केन्द्रको सम्पन्न प्रतिशत भने शून्य रहेको छ ।

हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको पुससम्मको कार्यप्रगतिका आधारमा मन्त्रालय तथा निकायगत आधारमा तेस्रो तथा मन्त्रालयहरूबीचको मूल्याङ्कनमा दोस्रो स्थानमा रहेको पाइएको छ । विवरणअनुसार पुस मसान्तसम्ममा स्वास्थ्य मन्त्रालयले कुल ५२ मध्ये सम्पन्न गर्नुपर्ने ११ काममा नौवटा सम्पन्न गरिसकेको विवरणमा उल्लेख छ ।

यी प्रगतिका आधारमा कार्यालयले स्वास्थ्य मन्त्रालयलाई ८१ दशमलव ८ अङ्क प्रदान गरेको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्रीसँग तथा स्वास्थ्य सचिव डा रोशन पोखरेलले मुख्य सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुभएको थियो ।