काठमाडौँ, फागुन ८ गते । नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको नेतृत्वमा प्रशंसायोग्य काम भइरहेको बताउनुभएको छ । नित्यनाथ सत्तलको पुनःनिर्माणको शिलान्यास गर्दै थापाले सम्पदा संरक्षणमा कामपाले गरेको कामको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “जन सरोकारका काममा यसअघि सङ्घ र प्रदेश सरकारसँग बजेट माग्नु पथ्र्यो अहिले कामपाले बजेटको अभाव महसुस हुन दिएको छैन । यो राम्रो काम हो ।”

कामपा–८, नवाली टोलमा रहेको १९औँ शताब्दीमा निर्मित सत्तल पुनःनिर्माणको महामन्त्री थापासहित, वडाध्यक्ष आशामान सङ्गत, सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राई र वडा सदस्यहरुले एकै पटक पाँच ठाउँमा जग राखेर शिलान्यास गर्नुभएको छ । सत्तल पुनःनिर्माणका लागि करबाहेक रु दुई करोड २७ लाखमा निर्माण पक्षसँग सम्झौता भएको छ ।

तीन तले सत्तलको पहिलो तलामा पुस्तकालय हुनेछ । दोस्रो तलालाई सामाजिक कार्य तथा भोजका लागि उपयोगमा ल्याइने महानगरले जनाएको छ । तेस्रो तला अर्थात् बुइँगलमा नित्यनाथको मन्दिरस्थल रहनेछ । परम्परागत वादन तथा गायन जस्ता विषयमा शिक्षा लिन पहिले नित्यनाथको पूजा गर्नुपर्ने प्रचलन छ । यसरी गरिने पूजामध्ये आज गरिएको पूजालाई विशेष रुपमा मानिन्छ ।

विसं १९९० सालको भूकम्पले जीर्ण अवस्थामा रहेको सत्तल २०३९ सालमा सुवर्ण वैद्य वडाध्यक्ष भएका बेला ढलान गरेर पुनःनिर्माण गरिएको थियो । त्यसमा तला थप गरेर सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो । वडाध्यक्ष सङ्गतले भन्नुभयो, “सांस्कृतिक सहरको पहिचान कायम गराउन परम्परागत शैलीमा सत्तलको पुनःनिर्माण गर्न लागिएको हो ।”

वडाभित्रका चार वटा फल्चा विसं २०७९ यता पुनःनिर्माण भइसकेका छन् । अतिक्रमित जग्गा स्वामित्वमा लिएर वत्सलेश्वरी जात्रा सञ्चालनका लागि फल्चा निर्माण भइरहेको छ । इना गणेश मन्दिर, इँटापाखाको स्वर्ण गणेश मन्दिर, जयबागेश्वरीको महामृत्युञ्जय मन्दिर, पशुपति परिसरको नित्यनाथ मन्दिर पुनःनिर्माण सम्पन्न भइसकेका छन् ।