काठमाडौँ, फागुन ६ गते । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित निःशुल्क दन्त शिविरमा ८० जनाले दाँत परीक्षण र उपचार गराएका छन् । रासस कर्मचारी सङ्घले ॐ समाज डेन्टल हस्पिटलको सहकार्यमा आयोजना गरेको ‘मुख स्वास्थ्यसम्बन्धी सचेतना र दन्त परीक्षण शिविर’ मा विज्ञ दन्त चिकित्सकबाट दन्त परीक्षण गरिनुका साथै सफा (स्केलिङ) गरिएको थियो । शिविरमा सहभागीको अवस्थाअनुसार आवश्यक औषधि, दन्त मन्जनसहित सामग्री प्रदान गरिएको थियो ।
यसअघि शिविर उद्घाटन कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले मुख स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न शिविर उपयोगी भएको बताउनुभयो । “मुख स्वास्थ्यलाई बेवास्ता गरिएको छ । यसबारे कमै चेतना छ, मिडियाले पनि खासै महत्व दिएको देखिन्न”, उहाँले भन्नुभयो,“राससले हस्पिटलसँग आवश्यक सहकार्य गरेर यस सेवाका बारेमा सचेतना अभिवृद्धि गर्न योगदान गर्नेछ । यो सुरुआत हो, यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्छ ।”
हस्पिटलका अध्यक्ष डा सुवास घिमिरेले मानव स्वास्थ्यको प्राथमिकता र महत्वपूर्ण पाटोको रूपमा रहेको मुख स्वास्थ्यलाई हेलचेक्र्याई गर्न नहुने बताउनुभयो । उहाँले मुख स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्न आफूहरूले यस्तै शिविर आयोजना गरिरहेको र यसमा राससजस्ता सञ्चारमाध्यमको सहयोग आवश्यक रहेको बताउनुभयो ।
डा घिमिरेले मुख स्वास्थ्य अर्थात् दाँतको हेरचाहका लागि ‘जङ्क फुड’ नखाने, धुम्रपान र मध्यपान निषेध गर्ने, प्राकृतिक शुद्ध खानपान तथा मनोवैज्ञानिक रूपमा स्वस्थ्य रहेर शारीरिक व्यायममा जोड दिन अनिवार्य रहेको उल्लेख गर्नुभयो । दिनमा दुई पटक अनिवार्य ब्रस गर्ने र कम्तीमा छ महिनामा दन्त परीक्षण गराउनु उपयुक्त हुने उहाँको सुझाव थियो ।
सङ्घका अध्यक्ष पवित्रा गुरागाईँले राससको वार्षिकोत्सवका अवसरमा मुख स्वास्थ्यलाई ध्यान दिएर शिविर आयोजना गरिएको बताउनुभयो । हस्पिटलका जनसम्पर्क प्रमुख धनप्रसाद घिमिरेले स्वस्थ्य जीवनबारे सचेतना अभिवृद्धि गर्न अस्पतालले विभिन्न निकाय, शैक्षिक संस्था र समुदायमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।
दन्त परीक्षण गरिएकामध्ये अधिकांशमा जाँदा दाँत खिइने, सिरिङ सिरिङ गर्ने, गिँजा सुन्निने, रगत आउनेजस्ता समस्या देखिएको चिकित्सकले बताएका छन् । हस्पिटलले शिविरमा सहभागीलाई आगामी दिनमा पनि दन्त सेवामा विशेष छुट दिने जनाएको छ । डा घिमिरेको नेतृत्वमा डा हरिशङ्कर यादव, डा आयुश्री घिमिरे, डा आसिका न्यौपाने, डेन्टल हाइजेनिक जुनु पण्डित, डेन्टल असिस्टेन्ट अजिता महर्जनलगायतको टोलीले शिविरमा सेवा दिनुभएको थियो ।