काठमाडौँ, फागुन ६ गते । सांसदहरूले कृषकद्वारा उत्पादित कृषि उपज आफूखुशी बिक्रीवितरण गर्न पाउनुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामप्रकाश चौधरीले तराई मधेशका किसानले सहज रूपमा तरकारीलगायत कृषि उपज बिक्री वितरणमा अवरोध गरिएकामा आपत्ति प्रकट गर्नुभयो ।
नेमकिपाका सांसद प्रेम सुवालले विपीन जोशीको रिहाइका लागि आवश्यक पहल हुन नसकेको र द्वन्द्वग्रस्त देशमा पुनः रोजगारीका लागि पठाउन खोजिएकामा आपत्ति प्रकट गर्नुभयो ।
सांसद गणेश पराजुलीले सुपारी आयातमा देखिएको वेथितीको सत्यतथ्य सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले आन्तरिक खपतका लागि आन्तरिक उत्पादन नै काफी हुने भएपनि अत्याधिक मात्रामा आयातका लागि मार्ग प्रशस्त गरिएकामा उहाँले आपत्ति प्रकट गर्नुभयो ।
साध्सद डिकबहादुर लिम्बुले पाथीभरामा केवलकार निर्माणका विषयमा भइरहेको विवादलाई सार्थक पहलमार्फत सार्थक समाधान गर्न माग गर्नुभयो । उहाँले सुकुम्बासीको समस्या समाधान गर्न, विकास निर्माणको कामलाई प्रभावकारी बनाउन समेत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रेखा यादवले भारतमा नेपाली विद्यार्थी मृत्युका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।