काठमाडौँ, फागुन ६ गते । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्ने क्रममा सांसद दयालबहादुर शाहीले राजनीति विकृत हुँदै गएका कारण इमानको राजनीति गर्न दलहरूलाई आग्रह गर्नुभएको छ ।
अनुशासन र इमान नै लोकतन्त्रको प्रारण रहेको भन्दै उहाँले बेइमानको राजनीति गर्नेलाई जनताले मूल्याङ्कन गर्ने बताउनुभयो । वर्तमान सरकार गठबन्धन लामो समय चल्ने दाबी पनि गर्नुभयो । यो गठबन्धनले जनताको आशा र भरोसा जगाउने काम गरेको धारणा उहाँले राख्नुभयो ।
सांसद उदय शमशेर जबराले भारतमा रहेका नेपाली विद्यार्थीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उनीहरूको मनोबल बढाउन पनि परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट प्रभावकारी पहल गरिनुपर्ने बताउनुभयो । नेपाली विद्यार्थी विदेशमा अध्ययन गर्ने क्रममा यस्ता घटना बारम्बार दोहोरिने गरेको पनि उहाँले बताउनुभयो । रैकर जग्गा दर्ता सधैँका लागि खोलिनुपर्ने धारणा पनि उहाँले राख्नुभयो ।
सांसद प्रतिमा गौतमले नेपालको सडक र यातायात पूर्वाधार असुरक्षित बन्दै गएको विषय संसद्मा उठाउनुभयो । सडक सुरक्षाका लागि विभिन्न निकाय कार्यरत रहे पनि दुर्घटना कम हुन नसकेको उहाँले बताउनुभयो । सवारी साधन अपाङ्गमैत्री तथा अशक्तमैत्री बनाइनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
सांसद कुसुमदेवी थापाले युवा उद्यम र नवप्रवर्तनका लागि जोड दिनुपर्ने बताउनुभयो । त्यस्तै, स्वदेशी उत्पादन बढाएर त्यसको बजारीकरण गरी खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा आत्मनिर्भर बन्न सक्नुपर्ने बताउनुभयो ।
कृषि क्षेत्रले मुलुकको अर्थतन्त्रलाई मात्र नभई पर्यावरण संरक्षणको दृष्टिकोणबाट पनि महत्वपूर्ण भूमिका खेल्ने भएकाले कृषि प्रवर्द्धनको नीति लिइनुपर्ने उहाँको भनाइ छ ।