काठमाडौँ, फागुन ६ गते । पानीजहाज विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । राष्ट्रियसभाको आजको बैठकले ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले राख्नुभएको प्रस्ताव सर्वसम्मत्तिले स्वीकृत गरेको हो ।
त्यस्तै, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले ‘लोकसेवा आयोगको आर्थिक वर्ष २०८०÷८१ को ६५औँ वार्षिक प्रतिवेदन’ पेस गर्नुभएको छ । राष्ट्रियसभाको अर्को बैठक यही फागुन ११ गते आइतबार दिउँसो १ः१५ बजे बस्नेछ ।