काठमाडौँ, माघ ३० गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले लगानीको वातावरण निर्माण गरेको बताउनुभएको छ । मुगुको रारामा निर्माण हुने ‘रारा रिसोर्ट’ को आज यहाँ आयोजित शिलान्यास समारोहमा उहाँले यस आयोजनाको निर्माणले राराको मात्र नभई समग्र मुलुककै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो ।

मन्त्री ठकुरीले लगानी सहजीकरणका लागि सरकारले अध्यादेश ल्याएको उल्लेख गर्दै यसबाट व्यावसायिक वातावरण सिर्जना भई मुलुकको आर्थिक विकासमासमेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक सुरक्षा र सुरक्षित लगानीका वातावरण बनाउन सरकार प्रतिबद्ध छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का प्रवक्ता ज्ञानबहादुर शाहीले कर्णाली प्रदेशमा हुने सबैखाले लगानीको सुरक्षित वातावरण बनाउन राजनीतिक सहजीकरणको भूमिका निर्वाह गरिने उल्लेख गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद विनिता कठायतले कर्णालीमा लगानी प्रवर्द्धन र व्यावसायिक सुरक्षाको वातावरण बनाइने बताउनुभयो ।

 मुगुको रारा ताल क्षेत्रमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनका लागि रारा हेल्डिङ्स रिसोर्ट प्रालि र अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले संयुक्त लगानी गर्ने बताइएको छ । मुगुको छायानाथ रारा नगरपालिका–९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा करिब रु एक अर्ब ५० करोड लगानीमा रिसोर्ट निर्माण हुने जनाइएको छ । 

दुईवर्षभित्र वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गरिनेछ ।