काठमाडौँ, माघ ३० गते । सङ्घीय संसद् अन्तर्गतआज आठ वटा संसदीय समितिको बैठक बस्दै छ । आज बुधबार एकै पटक अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कृषि, सहकारी तथा प्राकृतिक श्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको संयुक्त बैठक बस्न लागेको हो ।


जसअन्तर्गत आज बुधबार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता माननीय सदस्यहरूसँग छलफल हुने कार्यसूची छ ।

यसैगरी, आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक आज बिहान ११ः३० बजे बस्दै छ । सो बैठकमा माउण्ट एभरेष्ट ब्रुअरी प्रालिमा कार्यरत श्रमिकहरूको पारिश्रमिक सम्बन्धमा छलफल हुने बताइएको छ ।

यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्ने भएको छ । बैठकमा समितिको आगामी कार्यक्रम तथा समसामयिक विषयका सम्बन्धमा छलफल हुने कार्यसूची तय भएको छ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आज बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा समितिको आगामी अनुगमन भ्रमण तथा कार्यक्रम सम्बन्धमा छलफल हुनेछ ।

यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक १२ः१५ बजे बस्ने भएको छ । सो बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने संसद सचिवालयले जनाएको छ ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो १ः३० बजे बस्दै छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा मस्यौदा प्रतिवेदनउपर छलफल हुने कार्यसूची रहेको छ ।

यसैगरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक आज बिहान ११ः३० बजे बस्दै छ । उक्त बैठकमा विद्यमान निर्वाचन प्रणाली र यसका विकल्पहरूका बारेमा छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।