काठमाडौँ, माघ २९ गते । प्रतिनिधिसभाको आजको बैठकमा दलिय आधारमा बोल्नेक्रममा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षबीच अनावश्यक आरोप–प्रत्यारोप गर्न छोडेर संसद्लाई प्रभावकारी र नतिजामुखी बनाउनुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै, संसद्मा दर्ता भएका विधेयकहरूलाई चाँडो छलफलमा ल्याई पारित गर्नुपर्ने धारणा पनि सांसदहरूले राखेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का सांसद भगवती चौधरीले सरकारले आवश्यकताका आधारमा अध्यादेश ल्याएको बताउनुभयो । त्यस्तै, अभिव्यक्ति स्वतन्त्रताका नाममा सामाजिक सञ्जाल विकृत हुँदै गएको र गोपनियताको हक हननका घटना निकै बढेकाले सामाजिक सञ्जाल नियमन गर्न बनेको विधेयक आवश्यक भएको दाबी गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले  भ्रष्टाचारीहरूलाई जोगाउन नहुने भन्दै सबैले भ्रष्टाचारको विरोध गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका सांसद सुशीला थिङले सांसदहरूले वकालत गर्न पाउँछन् वा पाउँदैनन् भन्ने प्रश्न उठाउनुभयो । “एउटै व्यक्ति विधायिका पनि बन्ने र कानुन व्यवसायी पनि बन्ने, ठाउँठाउँमा बहस गर्दै हिँड्ने गर्न मिल्छ कि मिल्दैन रु”, उहाँले भन्नुभयो । बाढी तथा पहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्ग मर्मत सम्भार र पुनर्निर्माणमा ढिलाइ गर्न नहुने उहाँको भनाइ छ । उक्त राजमार्ग छेउछाउमा जथाभावी क्रसर उद्योग सञ्चालन भएका कारण बढी क्षति भएको पनि उहाँले उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सांसद दामोदर पौडेल बैरागीले सांसदहरूले आफू चर्चामा आउनका लागि संसद्मा मनलाग्दी बोल्ने गरेको आरोप लगाउनुभयो । संसदीय मर्यादासमेत ख्याल नगरेर सांसदहरूले उत्ताउलो र चर्को शैलीमा बोल्नु खराब अभ्यास रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमलसेनाले भ्रष्टाचार काण्डहरूको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने बताउनुभयो । “सडकमा जुहारी मात्रै सुनिन्छ । आफू सरकारमा हुँदा सबैभन्दा राम्रो ठान्ने तर, आफू सरकारबाट बाहिरिएसँगै सबैभन्दा खराब भन्ने शैली देखियो”, उहाँले भन्नुभयो, “भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय आयोग गठन गरौँ । त्यसपछि कसले कति खाएको रहेछ दूधको दूध पानीको पानी हुन्छ ।”

नेपाली कांग्रेसका सांसद नागिना यादवले काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीमाथि धरपकड गर्नु कानुनविपरीत रहेको बताउनुभयो । महानगरपालिकाले तानाशाह प्रवृत्ति देखाएको आरोप उहाँको छ । एमाले सांसद सूर्यप्रसाद ढकालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन हुन नसक्दा जनतामा परिवर्तनको आभास हुन नसकेको बताउनुभयो ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माण कहिले सुरू हुन्छ र कहिले सम्पन्न हुन्छ भन्ने जानकारी सरकारले संसद्मा गराउनुपर्ने बताउनुभयो । सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकका विषयवस्तु थप सन्तुलित बनाइनुपर्ने धारणा पनि उहाँले राख्नुभयो । यो कानुन आवश्यक रहे पनि विधेयकमा भएका व्यवस्था केही नियन्त्रणमुखी रहेको सांसद बजगाईले उल्लेख गर्नुभयो ।