काठमाडौँ, माघ २९ गते । प्रतिनिधिसभाको आजको बैठकमा सांसद शेरबहादुर कुँवरले कानुन सबैका लागि बराबर हुने भए पनि सत्तासँग नजिक भएकै कारण विभिन्न अपराधमा संलग्न भएकालाई कारबाही नभएको भन्दै विरोध प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले कानुन र विधिको शासन कायम गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले संसदीय समितिमा सर्वसहमतिले पारित गरिएको विधेयकमा सरकारको तर्फबाट तोडमोड आरोप लगाउनुभयो ।

सांसद वीरेन्द्रप्रसाद महतोले काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणलाई गति दिन आग्रह गर्नुभयो । सांसद अब्दुल खानले सरकारी अस्पतालमा उचित उपचार नपाएको, किसानले रासायनिक मल पाउन नसकेको, पैसा नभएको भन्दै हरेक क्षेत्रका कामकारबाही प्रभावित भएको भन्दै मुलुकको यथार्थका बारेमा जानकारी गराउनुभयो ।

गङ्गाराम चौधरीले नेपालका विद्यालय र क्याम्पसमा विद्यार्थी घट्दो क्रममा रहेको, अध्ययनका लागि नै विदेशिने क्रम बढ्दो क्रममा रहेको भन्दै किन त्यस्तो भएको हो उचित निरूपण गर्न माग गर्नुभयो । उहाँले वैदेशिक रोजगारीको नाममा ठगी धन्दा मौलाएको र दोषीमाथि कारबाही नभएकामा आपत्ति प्रकट गर्नुभयो ।

सांसद प्रेम सुवालले वैदेशिक ऋणको मात्रामा बढोत्तरी भए पनि उचित सदुपयोग नभएकामा गुनासो गर्नुभयो । सांसद प्रभु साहले सभा सम्मेलनका लागि आफ्नो पार्टीले स्थान नपाएको तथा मौलिक हक तथा अधिकारमाथि नै बन्देज गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

सांसद अमरेशकुमार सिंहले देशका अत्यावश्यक विमानस्थलमा सुधार एवं विस्तारको काम हुन नसक्दा समुचित प्रयोग हुन नसकेको बताउनुभयो । बैठकमा सांसद रामप्रकाश चौधरी, रेखा यादव, चन्दा चौधरीले समसामयिक राजनीतिक एवं राष्ट्रिय महत्वका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।