काठमाडौँ, माघ २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सबैले विधिको शासन मान्ने र कानुन पालना गर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्नेक्रममा सांसद शाहीले सत्तारूढ दलका नेता तथा कार्यकर्ताले गल्ती गर्दा पनि उनीहरूलाई कानुन नलाग्नु विधिको शासनको उल्लङ्घन रहेको बताउनुभयो ।

सर्वसाधारणका लागि एक खालको कानुन र नेता तथा कार्यकर्तालाई अर्को खालको कानूनको अभ्यास सरकारले गरेको आरोप सांसद शाहीले लगाउनुभयो । आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद वासुदेव घिमिरेले सरकारले सुशासन कायम गर्न, सेवा प्रवाहलाई छरितो बताउन र लगानी प्रवर्द्धनका लागि अध्यादेश ल्याएको बताउनुभयो । अध्यादेशमाथि प्रतिपक्षले विरोध गर्नु जायज नरहेको उहाँको भनाइ छ ।

“संसद्मा अनौठा परिदृश्य देखा परेका छन् । आफूले राम्रो गर्न नसक्ने र अरूलाई पनि गर्न नदिने प्रवृत्ति देखिएको छ । के अघिल्ला कुनै सरकारले अध्यादेश ल्याएका थिएनन्”, उहाँले भन्नुभयो, “जारी अध्यादेशबाट नागरिकलाई सहज सेवा प्रवाह, समृद्धि र परिवर्तनको अनुभूति दिलाउन सहयोग पुग्नेछ । यसबाट युवा, उद्योगी, व्यवसायी, भूमिहीन किसानलगायत आम नागरिक उत्साहित हुनुहुन्छ ।”

अध्यादेशको प्रक्रियामा कुनै त्रुटि नरहेको तर अध्यादेशमा राखिएका विषयवस्तु संशोधन गर्नुपर्ने भए त्यसमाथि संसद्मा छलफल गर्न सकिने उहाँको भनाइ छ ।