काठमाडौँ, माघ २९ गते । राष्ट्रिय समाचार समिति (रासस)का सेवाग्राहीले समाचारको मुहान भएकाले राससले समाचार सम्प्रेषणमा भाषा, शैली, शुद्धतालाई ख्याल गर्दै आगामी दिनमा समाचारको गुणस्तर कायम गर्ने पाटोलाई ध्यान दिन सुझाव दिएका छन् । राससको ६४ औँ वार्षिकोत्सवका सन्दर्भमा आज यहाँ आयोजित ‘समाचार सेवाको गुणस्तर र प्रभावकारिता’ विषयक कार्यक्रममा उहाँहरूले राससले कायम गर्दै आएको आधिकारिक र सत्यतथ्यमा नडगमगाई सन्तुलित समाचार प्रवाहमा गर्न आग्रह गर्नुभयो ।
राससले अर्थवार्षिक रूपमा आफ्ना सेवाग्राहीसँग समाचार सेवाका बारेमा छलफल गरी आवश्यक सुझाव लिने र समीक्षा गर्ने कार्य गर्दै आएको छ । राससले हाल नेपाली र अङ्ग्रेजी भाषाका साथै पछिल्लो समय अवधि, नेपालभाषा र मैथिलीभाषामा समाचार सम्प्रेषण गर्दै आएको छ । विसं २०१८ मा स्थापित राससले आफ्ना सेवामा विविधिकरण गर्ने सन्दर्भमा आलेख, अन्तर्वार्ता, तस्बिर, श्रव्यदृश्य, विचार प्रस्तुत गरिरहेको छ ।
सो अवसरमा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सेवाग्राहीबाट आएका सल्लाह सुझावलाई संस्थाले मार्गनिर्देश गर्दै आगामी दिनमा सेवाको गुणस्तर अभिवृद्धि गर्न कोसिस हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “कतिपय विश्वास गरिएका स्रोत कमजोर भएका कारण गल्ती कमजोरी हुन पुगेको छ । त्रुटि औँल्याएर सेवाग्राहीले रासस सुधारका लागि दिएको सुझावलाई सम्मान गर्छौं ।”
राससका नायब महाप्रबन्धक राजु शाक्यले राससका सेवाको गुणस्तर सुधारका लागि दिइएका सुझावलाई आत्मसात् गर्दै त्रुटिरहित तुल्याउन प्रयास गर्ने प्रतिकद्धता व्यक्त गर्नुभयो । समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेले राससले उत्पादन गरेका समाचारलाई सेवाग्राहीबाट सुधारका लागि के कस्तो सल्लाह सुझाव प्राप्त हुन्छ भनी नियमित रूपमा राय लिने परम्पराअनुरूप वार्षिकोत्सवका अवसरमा कार्यक्रम गरिएको बताउनुभयो ।
प्रधानसम्पादक उत्तम सिल्वालले नेपाली भाषालाई चौतर्फी रूपमा आक्रमण भइरहेका बेला त्यसलाई राससले जोगाउनुपर्छ भनी आएका सुझावलाई शिरोपर गर्दै पहिलेका तुलनामा समाचारको विविधिकरण र गुणस्तरमा महसुस गर्ने गरी सुधार आएको बताउनुभयो ।
आलेख शाखाका प्रमुख कृष्ण अधिकारीले राससले आफ्ना सम्पूर्ण सेवालाई सत्यतथ्य र चुस्त तुल्याउँदै गुणस्तरीय र विश्वासनीय बनाउन विभिन्न प्रयत्न गरिरहेको उल्लेख गर्नुभयो । त्यस अवसरमा अङ्ग्रेजी शाखाका प्रमुख दीपराज सन्याल, कार्यकारी सम्पादक शरच्चन्द्र भण्डारीले निरन्तर र छिटो समाचार सम्प्रेषण गर्नुपर्ने कार्यजिम्मेवारी भएका कारण मानवीय त्रुटिका घटना हुनसक्ने बताउँदै सेवाग्राहीबाट प्राप्त सुझाव मननयोग्य भएको धारणा राख्नुभयो ।
त्यसअवसरमा गोरखापत्र दैनिकका सम्पादक रामप्रसाद हुमागाई, दि राइजिङ भीमसेन थपलिया, नागरिक दैनिकका पत्रकार बालकृष्ण अधिकारी, सौर्य दैनिकका डेस्क सम्पादक दीपक आचार्य, अनलाइन पत्रिका दैनिकी डटकमका सम्पादक माधवप्रसाद तिवारी, हाम्राकुरा डककमका सोमराज पोखरेल, साँघु अनलाइनका जुली बुढाथोकी, नेपाल बहसका कार्यकारी सम्पादक केदार भट्टराईलगायतले राससका समाचारमा देखिएका भाषागत त्रुटिलाई सुधार्न, खोजमूलक र श्रव्यदृश्यलाई प्राथमिकता दिन सुझाव दिनुभयो । उहाँहरूले तस्बिर, श्रव्य र समाचार एकै ठाउँमा सहज रूपले प्राप्त गर्ने व्यवस्था मिलाउन तथा युवापुस्तालाई आकर्षित गर्नेखाले जनचासोसँग जोडिएका समाचारलाई पनि उत्तिकै महत्व दिन आग्रह गर्नुभयो ।