काडमाडौँ, माघ २९ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पुराना दलले नै संसदीय अभ्यास बिर्सेको आरोप लगाउनुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा दलगत रूपमा धारणा राख्ने क्रममा सांसद झाले संसद्लाई प्रभावकारी बनाउन नसक्नुमा सत्तारुढ दलकै कमजोरी रहेको बताउनुभएको हो ।

“आज संसद्मा नयाँ योजना, नीतिबारे छलफल होस् र आफ्ना विचार राख्न पाइयोस् भन्ने चाहना थियो तर पुराना दलहरूको शैलीका कारण संसद्कै प्रभावकारिता माथि प्रश्न छन्”, उहाँले भन्नुभयो, “सदनको आफ्नै विशिष्ट महत्व र गरिमा छ । यहाँ सङ्ख्या होइन सिद्धान्त महत्वपूर्ण हो । तपाईहरू हामीलाई सदनमा अराजक नहोउ भन्नुहुन्छ, हामी भएका छैनौँ । हामीले सदन अवरोध गरेका छैनौँ ।”,

भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने सवालमा नेपाल थप कमजोर हुँदै गएको पनि उहाँले बताउनुभयो ।