काठमाडौँ, माघ २९ गते । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै नेपाली काङ्ग्रेसका रामकृष्ण यादवले राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै राजनीतिक अस्थिरताको कारक भएको बताउनुभएको छ ।

सांसद यादवले मुलुकले राजनीतिक स्थिरता पाउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सत्ता गठबन्धनको मुख्य उद्देश्य राजनीतिक स्थिरता, सुशासन र संविधान संशोधन हो । मुख्य कारण राजनीतिक पार्टीको अनुशासनहीनता र दोहोरो चरित्र नै हो । जनतालाई गलत सूचना दिने र भ्रममा पार्नाले राजनीतिक अस्थिरता भएको हो ।”

सांसद यादवले संसद्को मुख्य काम भनेकै कानुन निर्माण गर्नु हो तर सुस्त गतिमा भइरहेको धारणा राख्नुभयो । “जनताका लागि आवश्यक कानुन समयमा निर्माण नहुँदा जनताले न्याय पाउँदैनन्, यसैले छिटोछरितो रूपमा विधेयक पारित गरौँ । सरकार निर्माण भएको सात महिना भएको छ । उद्देश्यअनुसार पूरा गर्न सरकारले कार्यको गति बढाओस् । सरकारको नीति कार्यक्रम तथा बजेट कार्यान्वयन भयो कि भएन भनेर मूल्याङ्कन, समीक्षा र निर्देशन दिन सरकारलाई अनुरोध गर्छु,” उहाँले भन्नुभयो ।

उहाँले आव २०७४र७५ मा हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको योजनामा राखिएको तर अहिलेसम्म अधुरै रहेकाले अविलम्ब सुरू गर्न आग्रह गर्नुभयो । साथै पुल निर्माणको कार्य पनि सरकारले अघि बढाओस् भन्ने धारणा राख्नुभयो ।