काठमाडौँ, माघ २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गणतन्त्रको उपलब्धिका रूपमा वर्तमान संविधान जारी भएपछि सबै जातजाति र समुदायलाई आ–आफ्ना धर्मसंस्कृति, वेशभूषा र पहिचान जोगाउने अवसर प्राप्त भएको बताउनुभएको छ । बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित ल्होसाररल्होछाररलोसार शुभकामना आदान–प्रदान कार्यक्रममा आज उहाँले गणतन्त्र स्थापनापछि गठन भएको ‘ककस’ले महिला र आदिवासी जनजातिका मुद्दालाई सशक्त रूपमा ल्याएकै कारण राजनीतिक जागरण पैदा भएको बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक संविधान जारी भएपछि नेपालमा सबै जातजातिले धार्मिक, भाषिक र सांस्कृतिक दृष्टिकोणबाट समान अधिकार पाएको महसुस गरिरहेका छन् ।” मुलुकमा १२४ वटा भाषाले राष्ट्रिय भाषाको मान्यता प्राप्त गरेपछि ती भाषाभाषीले आफ्नो पहिचान स्थापित भएको रूपमा ग्रहण गरेको उहाँको भनाइ थियो ।

नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले सबै जातजाति र समुदायको कलासंस्कृति तथा पहिचानको संरक्षणमा स्थानीय सरकारले काम गरिरहेको बताउनुभयो ।