बागलुङ, माघ २६ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सचिव हितमान शाक्यले प्रतिपक्षको भूमिकालाई माओवादी केन्द्रले अवसरका रुपमा लिएको बताउनुभएको छ । उहाँले माओवादी रुपान्तरणका लागि जनता केन्द्रित कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । सत्तामा हुँदाका कमीकमजोरीलाई आत्मालोचना गर्दै जनतासामु घरदैलो र खबरदारी सभा गरिरहेको बताउनुभयो ।

प्रेस सेन्टर बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बागमती प्रदेश इञ्चार्जसमेत रहनुभएका नेता शाक्यले जनताका समस्या बुझेर माओवादी केन्द्र आगामी निर्वाचनमा सहभागी हुने बताउनुभयो ।

संविधान संशोधनको कदमलाई पुनःविचार गर्दै प्रतिगमन हुने ढङ्गले संशोधन गर्न नहुने उहाँले बताउनुभयो । शासकीय र निर्वाचन प्रणाली परिवर्तन गर्न नसके भ्रष्टाचार नरोकिने बताउँदै खर्चिलो निर्वाचनको अन्त्य गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।