सुन्दरहरैँचा, माघ २५ गते । ‘हातहातमा मोबाइल, गाउँगाउँमा सामाजिक सञ्जाल’ सुन्दरहरैँचामा हिजोआज एउटै आवाज सुनिन्छ, सुन्दरहरैँचा विराट एक्स्पो–४ । माघ महिनाको शीतलहर तथा कठङ्याग्रिँदो चिसोको कुनै परवाह नगरी सामाजिक कार्य गर्ने हेतुले यहाँ महोत्सवको चर्चा छ । कोही ‘टिकटक’ तथा कोही ‘भिडियो’मा एक्स्पोको प्रचारप्रसार गर्न व्यस्त छन् ।
महोत्सवको एउटै उद्देश्य हो, नगरको पहिचान बढाउने, व्यापार व्यवसायको प्रवर्द्वन गरी सुविधासम्पन्न पुस्तकालयसहितको आधुनिक सार्वजनिक शौचालय निर्माण गर्नु । नगरका विभिन्न स्थानमा विदेशी मापदण्डको आधुनिक सुविधासम्पन्न पुस्तकालयसहितको सार्वजनिक शौचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा विराट एक्स्पो–४ आयोजना गर्न लागिएको हो । सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा यही माघ ३० देखि फागुन १० गतेसम्म एक्स्पो सञ्चालन हुनेछ ।
नगरको सलकपुर, विराटचोकमा विदेशी मापदण्डको सुविधासम्पन्न पुस्तकालयसहितको ‘सैलुन बाथरुम’ भएको तीनतले सार्वजनिक शौचायल निर्माण भएर चालु अवस्थामा छ । अन्य स्थानमा निर्माणाधीन अवस्थामा रहेका शौचालयको कार्य सम्पन्न गर्न एक्स्पोबाट रकम सङ्कलन गरेर सार्वजनिक शौचालय निर्माण गर्न लागिएको हो । महोत्सव मूल समारोह समितिका संयोजक भोलेश्वर दुलालले नगरका विभिन्न स्थानमा बनाउन बाँकी आधुनिक शौचालय निर्माणसम्पन्न गर्न आवश्यक कोष जुटाउन ‘एक्स्पो’ सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले चालु शौचालय परियोजनाहरू पूरा गर्न र नयाँ सुरु गरी स्रोत सुनिश्चितताका लागि एक्स्पो महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नु भयो । “हाल नगरपालिकामा दुई सार्वजनिक शौचालयहरू चालु छन् । थप दुईको निर्माण भइरहेको छ । प्रदर्शनीबाट प्राप्त रकम हरैँचा र खोर्सानेमा निर्माणाधीन शौचालयको काम सम्पन्न गर्न र थप दुई सार्वजनिक शौचालयहरू थप्न खर्च गरिने छ”, संयोजक दुलालले भन्नुभयो ।
एक्स्पो सञ्चालनका लागि करिब रु चार करोड खर्च हुने आयोजकको अनुमान रहेको छ । जसमा लक्षित विकास परियोजनाहरूका लागि रु एक करोड बचत हुने अपेक्षा गरिएको छ । यस वर्षको महोत्सवमा दुई सय स्टलहरू रहने उल्लेख गरिएको छ । महोत्सवमा खेलकुद, बाल उद्यान, मनोरञ्जन, अटोमोबाइल, कृषि, पर्यटन, व्यापारका साथै नयाँ प्रविधि एआईको प्रयोग र उपयोगबारे जानकारी गराउने स्टलसमेत रहने आयोजकले जनाएको छ ।
स्थानीय उत्पादन, कृषि प्रविधि, कपडा, उद्योग, व्यापार तथा नवप्रवर्तनसँग सम्बन्धित स्टलहरू राखिने मेलाका स्टल व्यवस्थापन उपसमिति संयोजक ज्ञानप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँले ७६ स्टलहरू औद्योगिक उत्पादन, ५० स्टल कृषि र घरेलु सामानहरू प्रदर्शन तथा शैक्षिक संस्था, बैङ्क र वित्तीय संस्थाहरूलाई समर्पित ४०, अटोमोबाइल व्यवसायका लागि १९ स्टलहरू रहने जानकारी दिनुभयो । यस्तै, होटलहरूको प्रतिनिधित्व गर्ने १४ स्टल रहने र हाल ८० प्रतिशत स्टलहरू बुक भइसकेका छन् । आयोजक सङ्घका अध्यक्ष नारायण कार्कीले महोत्सव व्यवस्थापनका लागि ५०१ सदस्यीय मुख्य आयोजक समिति र १९ उप–समितिहरू गठन गरिएको बताउनुभयो ।
११ दिनसम्म सञ्चालन हुने एक्स्पोमा सबैलाई सहभागिता जनाउन उद्योग वाणिज्य सङ्घले आग्रह गरेको छ । गत वर्षको संस्करणमा एक लाख ५० हजारले महोत्सव अवलोकन गरेकामा यस वर्ष तीन लाखको उपस्थित हुने अपेक्षा गरिएको छ ।
यहाँस्थित विराटचोकमा करिब तीन बिघा जग्गा १० वर्षका लागि भाडामा लिएर मेला लगाउन लागिएको छ । आगामी दिनमा मेला मात्र नभइ बहुप्रयोजनका लागि जग्गा सुरक्षित गरिएको संयोजक दुलालले बताउनुभयो । नगरप्रमख केदारप्रसाद गुरागाईंले महोत्सव व्यवस्थापनका लागि जग्गा भाडामा दिइएको र सम्झौताअनुसार अगाडि बढाइने बताउनुभयो ।