काठमाडौँ, माघ २४ गते । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वृक्षरोपण गर्दै सो क्षेत्रको अवलोकन गर्नुभएको छ ।
नेपाल भ्रमणमा रहनुभएका उहाँहरुले आज सो उद्यानको अति विशिष्ट वृक्षरोपण क्षेत्रमा ‘सुन चाँप’ को बिरुवा रोप्नु भएपछि केही समय अवलोकन गर्नुभयो । अधिराजकुमारी डचेस सोफीले उद्यानको मुख्य प्रवेशद्वार परिसरमा ‘लाली गुँरास’को बिरुवा रोप्नुभयो । बेलायतका महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९८६ मा सोही क्षेत्रमा ‘पुँवाले’ का दुई बिरुवा रोप्नुभएको थियो ।
सो अवसरमा अधिराजकुमार र अधिराजकुमारीले महारानी एलिजाबेथ र राजकुमार फिलिपले रोप्नुभएका पुँवालेका रुख राम्रोसँग हुर्केकोमा खुसी व्यक्त गर्नुभयो । उहाँहरुले उक्त कार्य लामो परम्परागत सम्बन्धको प्रतीक बनेको उल्लेख गर्नुभयो ।
उहाँहरुले बेलायतको सहयोगमा स्थापना गरिएको जैविक विविधता शैक्षिक उद्यानका साथै हर्बोरियन, अर्किड हाउसलगायत क्षेत्रको अवलोकन गर्नुभयो । उहाँहरुलाई वन तथा वातावरण राज्यमन्त्री रुपा विकले स्वागत गर्नुभएको थियो । साथै वनस्पति विभागका महानिर्देशक सञ्जिव राई र वनस्पति उद्यानका प्रमुख मधुसुदन थापाले उद्यान र वनस्पतिका बारेमा जानकारी गराउनुभयो ।
नेपालमा पहिलो पटक भएको अधिराजकुमार र अधिराजकुमारीको यस भ्रमणले बेलायत–नेपाल सम्बन्धको गौरवशाली इतिहासलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ । मंगलबार नेपाल आइपुग्नुभएका उहाँहरुले सोही दिन राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।
बेलायतबाट प्राप्त सहायताले नेपालको मातृस्वास्थ्य सेवामा सुधारमा भइरहेको कामबारे उहाँहरुले अवलोकन गर्नुभएको थियो । अधिराजकुमार एड्वर्डले बुधबार यहाँस्थित बेलायती दुतावासमा आयोजित कार्यक्रममा ‘ड्यूक अफ एडिनब्रा’ अन्तरराष्ट्रिय पुरस्कारबाट लाभान्वित हुने युवाहरूलाई सम्मान गर्दै अन्तरक्रिया गर्नुभएको थियो । अधिराजकुमारी डचेस सोफीले बुधबार कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल’ जानु भई अस्पतालबाट प्रदान भइरहेका सेवा एवं सेवाग्राहीसँग भेटवार्ता गर्नुभएको थियो ।
उहाँले भक्तपुर अस्पतालको प्रसूति कक्ष (गाइनो वार्ड) को अवलोकन गर्नुभएको थियो । त्यस्तै अधिराजकुमार एड्वर्डले बुधबार भक्तपुरको भ्रमण गरी त्यहाँको कला सांस्कृतिको अवलोकन गरी काठमा बुट्टासमेत खोप्नुभएको थियो ।
भ्रमणका क्रममा आजै उहाँहरूले गोदावरीको फुल्चोकीस्थित अन्तरराष्ट्रिय पर्वतीय एकीकृत विकास केन्द्र ९ईसिमोड०को ‘लिभिङ माउण्टेन ल्याब’को अवलोकन गर्नुभयो । उहाँहरुले भ्रमणका क्रममा पोखरा पुगेर गोरवशाली गोर्खा सम्बन्धमार्फतको सेवा भावसहितको साझा इतिहासलाई सराहना गर्नुहुने जनाइएको छ ।
यो भ्रमण बेलायती शाही परिवारका सदस्यहरूबाट भएको चौधौँ नेपाल भ्रमण हो । महारानी एलिजाबेथ द्वितीय र राजकुमार फिलिपले सन् १९६१ र १९८६ मा, वेल्सका अधिराजकुमारका रूपमा राजा चाल्र्सले सन् १९७५, १९८०, १९९२ र १९९८ मा नेपालको भ्रमण गर्नुभएको थियो । सबैभन्दा पछिल्लो भ्रमण सन् २०१६ मा अधिराजकुमार ह्यारीबाट भएको थियो ।
गोदावरी उद्यानको बेलायतसँगको सम्बन्ध
नेपाल र संयुक्त अधिराज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुई सय वर्ष पूरा भएको अवसर पारेर २०७३ साल असोज ६ गते गोदावरीमा जैविक विविधता शैक्षिक उद्यान निर्माण गरिएको थियो । नेपाल र बेलायतबीच सन् १८१६ मा सुगौली सन्धि भइ कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
एक दशमलव तीन हेक्टर क्षेत्रफलको यो उद्यानको स्थापनामा लगभग तीनसय पचास वर्ष पहिले स्थापना भएको संयुक्त अधिराज्यको शाही वनस्पति उद्यानसँगको सम्बन्ध छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको औपचारिक भ्रमणका बेला विसं २०७८ कात्तिक १७ गते स्कटल्याण्डको एडिनब्रास्थित शाही बनस्पति उद्यानमा रहेको नेपाली बगैँचामा ‘भोजपत्र’को विरुवा रोप्नुभएको थियो ।
सन् १८०२ मा बेलायती वैज्ञानिक फ्रान्सिस हेमिल्टनले नेपालको भ्रमण गरी वनस्पतिको अध्ययन गर्नुभएको थियो । पछि विभिन्न वैज्ञानिकहरुले नेपालको भ्रमण गरी आठभन्दा बढी नेपालका बनस्पति पत्ता लगाएका थिए । तत्कालीन राजा महेन्द्र विक्रम शाह विसं २०१७ मा बेलायत भ्रमणमा जानुभएको थियो । भ्रमणका क्रममा उहाँले बेलायतको शाही बनस्पति उद्यान अवलोकन गर्नुभएको थियो । नेपाल फर्केपछि उहाँले त्यस्तै उद्यान बनाउनुपर्छ भन्ने सोचले गोदावरीमा २०१९ सालमा उद्यान स्थापना गर्नुभएको थियो ।
दुई बेलायती डिजाइनरले सन् १९६१ देखि १९६५ सम्म नेपालमै बसेर सो उद्यानको डिजाईन गर्नुभएको बताइन्छ । बेलायतको सहकार्यमा बनेको यस उद्यानमा सन् १९८६ मा महारानी एलिजाबेथ द्वित्तियले नेपाल भ्रमणका बेला वृक्षरोपण गर्नुभएको थियो । पछि सो क्षेत्रमा विभिन्न समयमा १७ देशका राष्ट्रप्रमुखहरुले विभिन्न वनस्पति रोप्नुभएको छ ।
प्राकृतिक सौन्दर्यले सुसज्जित फूलचोकी पर्वतको काखमा अवस्थित गोदावरी क्षेत्रमा रहेको यस उद्यानको ठूलो महत्व छ । राष्ट्रिय वनस्पति उद्यानले करीब पाँच हजार वनस्पति प्रजातीहरुको नमूना (हर्वेरियम) सङ्कलन गरी बनस्पति अध्ययन, अनुसन्धान र संरक्षणको क्षेत्रमा योगदान पु(याएको जनाएको छ ।