काठमाडौँ, माघ २४ गते । नेपाली काङ्ग्रेसका प्रवक्ता एवं सांसद डा प्रकाशशरण महतले सरकारले संसदमा प्रस्तुत गरेका अध्यादेश चाँडै पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद डा महतले आर्थिक मन्दीलाई समाप्त पारेर आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन सरकारले अध्यादेश ल्याएको उल्लेख गर्नुभयो ।

 “आर्थिक विकासलाई द्रुत गतिमा अगाडि बढाउन सरकारले अध्यादेश ल्याएको हो । दुई महिनाभित्रै समस्या टुङ्गो लगाउने विषयको बाध्यतालाई मध्यनजर गर्दै अध्यादेश आएको हुनुपर्दछ”, उहाँले भन्नुभयो, “कहीँ कतै ‘कन्टेन्ट’मा समस्या छ भने सदनमा छलफल र बहस गरौँ तर, अध्यादेश ल्याएकै कारणले यसको बिरोध गर्नुपर्दछ, विधेयक फेल गराउनुपर्दछ भन्ने मान्यता उपयुक्त होइन ।”

 सांसद डा महतले मुलुकको आर्थिक विकासलाई तीव्रता दिन विद्यमान ऐन कानुनलाई समयसापेक्ष बनाई एकरुपता दिएर परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “लगानीका लागि विश्वव्यापी प्रतिष्पर्धा छ । कानुनलाई समयसापेक्ष नबनाए लगानी भित्रिन समस्या हुन्छ । लगानीप्रतिको कानुनलाई नसच्याउने हो भने स्वदेशी लगानी नहुने र विदेशी लगानी पनि नभित्रिने खतरा रहेकाले लगानीसम्बन्धी विधेयक  चाँडै संसदबाट पारित हुन्छ ।” उहाँले विधेयक पारित गरेपछि सहज रुपमा आर्थिक गतिविधि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

‘निजी क्षेत्र लगानीको इन्जिन हो’

 सांसद डा महतले निजी क्षेत्र लगानीको इन्जिन भएको उल्लेख गर्दै निजी क्षेत्रलाई लगानी सहजीकरणका लागि सरकारले उपयुक्त वातावरण बनाइदिनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकमा आर्थिक गतिविधि अगाडि बढाउन सरकारले दोस्रो आर्थिक सुधारको काम सुरु गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

 सहकारी प्रकणमा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष रवि लामिछानेतर्फ सङ्केत गर्र्दै  उहाँले अदालतको विषयलाई सरकारसँग जोडेर अनावश्यक रुपमा राजनीतिकरण गर्नु नहुने बताउनुभयो । सहकारी प्रकरण अहिले अदालतको विषय भएकाले अदालतको निर्णयलाई सबैले स्वीकार्नुपर्ने भन्दै उहाँले पीडितले न्याय पाउने विषयलाई सरकारले तदरुकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।