काठमाडौँ, माघ २४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आज मन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

भेटमा राजदूत श्रीवास्तवले नेपाल–भारत रेलमार्गका बारेमा चासो व्यक्त गर्नुभयो । उहाँले रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम, प्रशिक्षण उपलब्ध गराउन भारत सरकार तयार रहेकोसमेत उल्लेख गर्नुभयो ।

त्यस अवसरमा मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पु¥याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले समेत मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीबीच छिट्टै बैठक बस्ने विश्वास व्यक्त गर्नुभएको थियो । भेटमा रेल विभागका महानिर्देशक अजयकुमार मुल, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिवलगायत अधिकारी सहभागी रहनुभएको थियो ।