काठमाडौँ, माद्द २४ गते । सङ्घीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् । राष्ट्रियसभामा निर्णायक रहेका जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले समय मागेको भन्दै दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश निर्णयार्थ पेस गर्ने निर्णयबाट सरकार पछि हटेको हो ।


अध्यादेश निर्णयार्थ पेस नगर्न कानुनमन्त्री अजयकुमार चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई आग्रह गर्नुभएको थियो । त्यसलगत्तै दुवै सदनको कार्यसूची फेरिएको हो ।


अध्यादेश स्वीकार गर्नका लागि प्रतिनिधिसभामा नेपाली काङ्ग्रेस र एमालेको मात्रै पनि बहुमत पुग्छ, तर राष्ट्रियसभामा जसपा नेपालका तीन सांसद निर्णायक छन् । यसअघि आज बस्ने दुवै सदनको बैठकमा अध्यादेश प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको थियो ।