काठमाडौँ, माघ २४ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । दिउँसो १ बजेबाट सुरु हुने भनिएको बैठक केहीबेर ढिला गरी भर्खरै मात्र सुरु भएको हो ।

बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्नुहुने कार्यसूची छ ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८० पेश गर्नुहुने, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्नुहुने कार्यसूची छ ।


आजको संसद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री केपी शर्मा ओली भने आजको संसद् बैठकमा उपस्थित नहुने हुनुभएको उहाँको सचिवालयले जनाएको छ।