काठमाडौँ, माघ २४ गते । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक सङ्घीय संसद भवन नयाँबानेश्वरमा आज दिउँसो १ बजे बस्ने भएको हो ।

संसद सचिवालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९–८०’ पेस गर्नुहुने कार्यसूची रहेको छ ।

यसैगरी, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१–८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेश गर्नुहुने कार्यसूची रहेको छ ।

यस्तै, आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक सबन्धी समितिको प्रतिवेदन’ पेश गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।


यसैगरी, आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुनेछ ।


आजको बैठकमा हालै सरकारले जारी गरेका ६ अध्यादेशहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । सरकारले सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, “आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश ल्याएको छ ।