रुकुम पश्चिम, माघ २३ गते । यहाँको चौरजहारी नगरपालिका–६ की एक सुत्केरीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला अस्पताल सल्लेबाट उद्धार गरी २८ वर्षीया सीता बुढालाई प्रदेश अस्पताल सुर्खेत पठाइएको हो । उहाँलाई अत्यधिक रक्तस्राव भएको र जुनसुकैबेला सघन उपचार कक्षको आवश्यकता पर्नसक्ने भएकाले हेलिकप्टरमार्फत उद्धारगरी सुर्खेत पठाइएको जिल्ला अस्पतालका महिला तथा स्त्रीरोग विशेषज्ञ डाक्टर केहलबिक्रम जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सीताको गत सोमबार जिल्ला अस्पतालमा शल्यक्रिया गरी सुत्केरी गराइएको थियो । बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएकामा शिशु भने मृत फेला परेको थियो । उहाँलाई थप उपचारको आवश्यकता भएपछि जिल्ला प्रशासनसँगको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।