पर्सा, माघ २२ गते । जिल्ला प्रहरी कार्यालयले भन्सार छली गरेर भित्र्याइएका रु ५६ लाख ४६ हजार मूल्य पर्ने विद्युतीय सामग्रीलगायत विभिन्न उपभोग्य वस्तु बरामद गरेको छ । आज जिल्लाका विभिन्न स्थानबाट भन्सार छली, चोरी पैठारी गरी ल्याइएका विद्युतीय, खाद्यान्न, सुर्ती, चप्पललगायत सामग्री बरामद गरिएको हो ।

प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जिल्लामा नियमित जाँच गरी भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गर्ने काम भइरहेको बताउनुभयो । “आज बरामद गरिएका बिलबिजकभन्दा कम मूल्य भएका सामान राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएका छन्, अन्य सामान भने कानुनी प्रक्रिया पूरा गरेर वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिनेछ”, उहाँले भन्नुभयो ।