ललितपुर, माघ २२ गते । नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यले प्रथम जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । संवाद फाउण्डेसनले चलचित्रकर्मी र सञ्चारकर्मीको उपस्थितिमा आज ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा आगामी फागुन १६ देखि १८ सम्म प्रथम चलचित्र महोत्सव हुने जानकारी दिएको हो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवले नेपाली र मिथिला चलचित्रलाई विश्वमा बजारीकरण गर्न महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गर्नुभयो । “जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । विश्वका एक सय ३७ भन्दा बढी देशले हाम्रो चलचित्रका बारेमा थाहा पाउनेछन्” उहाँले भन्नुभयो ।
अध्यक्ष डिसीले पैसा कमाउने उद्देश्य राखेर महोत्सव गर्नु उचित होइन भन्दै यस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई अरु क्षेत्रको बजेट काटौति गरेर पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रिय समाचार समिति ९रासस० का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाली सिनेमा निर्माणको प्रक्रिया बदलिनुपर्नेमा जोड दिनुभयो । “नेपाली सिनेमा कताकता एकाङ्गी पो छ कि भन्ने मलाई लागेको छ, मैले फरक भूगोल, फरक विषयको चित्रण गर्ने परिपाटीको अभाव भएको महसुस गरेको छु । स्थानीय परिवेशका कुरालाई हामीले सिनेमामा बुझाउन सकिरहेका छैनौँं, आशा छ, जनकपुरमा हुने यो कार्यक्रमले नयाँपन खोज्ने छ”, उहाँले भन्नुभयो ।
कार्यकारी अध्यक्ष झाले महोत्सवले नेपाली चलचित्र निर्मातालाई स्थानीय कथा खोजीमा प्रेरित गर्ने विश्वास व्यक्त गर्दै भविष्यमा नेपाली सिनेमालाई दिगो र अन्तरराष्ट्रियकरण गर्न पनि निकै ठूलो सहयोग पुग्ने धारणा राख्नुभयो ।
अभिनेत्री रेखा थापाले मिथिला सभ्यता, कला र महिलाको जननी भएको बताउँदै महोत्सवले त्यो महत्वलाई उजागर गर्ने बताउनुभयो । “मधेशको कलासँग प्रगाढसम्बन्ध छ । पछिल्लो समय हाम्रो संस्कृति र भाषामाथि आक्रमण भएको छ, यसलाई चिर्नु आवश्यक छ”, उहाँको भनाइ थियो ।
वरिष्ठ निर्माता माधव वाग्लेले मिथिला सभ्यताको चित्र कोर्न धेरै महङ्गो हुने भएकाले आफूहरूलाई मिथिला क्षेत्रको कथा समेटेर चलचित्र निर्माणमा समस्या भइरहेको सुनाउनुभयो । चलचित्र निर्देशक सुवर्ण थापाले महोत्सवले हिमाल, पहाड र तराईलाई जोड्दै बालबालिका, युवा, महिलालगायतलाई समेट्नुपर्नेमा जोड दिनुभयो ।
जेआइएफएफ नेपाली चलचित्रको अन्तरराष्ट्रियकरण, युवा फिल्मकर्मीलाई उत्प्रेरित गर्ने र सांस्कृतिक विविधताको प्रवर्द्धन गर्ने अभिप्रायले महोत्सव आयोजना गर्न लागिएको संवाद फाउन्डेसनका प्रमुख कुमार भास्करले जानकारी दिनुभयो । उहाँले नेपालमा फिल्मको महत्व बुझाउने, नेपाली चलचित्रलाई विश्वभर प्रस्तुत गर्ने, नेपाली युवालाई प्रेरणा र अवसर दिनेलगायत नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा स्थापित गर्ने अभियानस्वरूप आफूहरू अगाडि बताउनुभयो ।