काठमाडौँ, माघ २१ गते । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गर्न इजरायलसँग आग्रह गर्नुभएको छ । आज आफूसँग भेट गर्न आउनुभएका नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससँग उहाँले जोशीको रिहाइका साथै इजरायलमा रहेका नेपाली श्रमिकको सुरक्षा र रोजगारीका विषयमा ध्यान दिन आग्रह गर्नुभएको अध्यक्ष दाहालका प्रेस संयोजक डिल्ली मल्लले जानकारी दिनुभयो ।

सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा विचारविमर्श भएको प्रेस संयोजक मल्लले बताउनुभयो ।

भेटमा राजदूत श्मुलिकले हमासको नियन्त्रणमा रहेका नेपाली युवा जोशीलाई छुटाउन इजरायलले निरन्तर पहल गरिरहेको जानकारी दिँदै आज बिहान मात्रै विपिनका बुवालगायत परिवारका सदस्यलाई भेटेको सुनाउनुभयो । हमासको आक्रमणलगत्तै नेपाल, थाइल्याण्ड र फिलिपिन्सले आफ्ना विद्यार्थीको उद्धार गरी ल्याएकामा अहिले थाइल्याण्ड र फिलिपिन्सका विद्यार्थी इजरायल फर्किसकेको, अब त्यस्तो घटना नदोहोरिने र उनीहरूको सुरक्षाको जिम्मा इजरायल सरकारले लिने राजदूत बासले बताउनुभएको थियो ।