काठमाडौँ, माघ २० गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले उपचारात्मकसँगै निदानात्मक सेवालाई पनि सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्च, नेपालको नवनिर्वाचित कार्यसमितिलाई आज मन्त्रालयमा बधाई तथा शुभकामना दिँदै मन्त्री पौडेलले रोग लाग्नबाट बच्ने उपायबारे जानकारी दिन निदानात्मक सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । “सरकारले रोग लागेका बिरामीलाई उपचारात्मक सेवा प्रदान गरिरहेको छ,” उहाँले भन्नुभयो, “तर रोग लाग्नुभन्दा अगाडि पनि सचेतना कार्यक्रम सञ्चालन गर्न निदानात्मक सेवा आवश्यक छ ।”

मन्त्री पौडेलले बिरामी नागरिकको उपचार गर्नुपर्ने दायित्व सरकारको भए पनि अब निदानात्मक कार्यक्रममा जोड नदिए उपचार सेवा पूर्ण ढङ्गले पु¥याउन सक्ने अवस्था नरहने बताउनुभयो । “सरकारले उपचारात्मक क्षेत्रमा बढी काम गरिरहेको छ, तथापि पर्याप्त भने छैन । तर उपचारात्मकको तुलनामा निदानात्मक क्षेत्रमा काम हुन सकेको छैन । त्यही कारण बिरामीको सङ्ख्या बढ्दै गएको छ । निदानात्मक सेवामा काम गर्न सके बिरामीको सङ्ख्यामा कमी आउँछ,” मन्त्री पौडेलले भन्नुभयो ।  

सरकारले तोकेका पाँच तहका अस्पतालमा एउटा तहलाई निदानात्मक केन्द्रका रुपमा विकास गर्ने मन्त्रालयको लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय शारीरिक बिरामीभन्दा पनि मानसिक बिरामी बढ्दै गएको उल्लेख गर्दै उहाँले त्यसलाई रोक्न सचेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।  

मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले स्वास्थ्य पत्रकारसँग मन्त्रालयले सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । मञ्चका अध्यक्ष भिसा काफ्लेले स्वास्थ्य पत्रकारको वृत्ति विकासका लागि मन्त्रालयको सहयोगको खाँचो आँैल्याउनुभयो ।